विराटनगर । शिक्षण–सिकाइको आधार भाषा नै हो भन्ने अवधारणासहित विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक–शिक्षिकाका लागि दुईदिने भाषा विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ ।
विद्यालयका अनुसार प्रशिक्षणमा सबै तहका करिब एक सय शिक्षक–शिक्षिकाको सहभागिता थियो । प्रशिक्षणको सहजीकरण काठमाडौं विश्वविद्यालयका प्राडा लक्ष्मण ज्ञवालीले गरेका थिए ।
कार्यक्रममा विशेषगरी नेपाली तथा अंग्रेजी भाषाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अभ्यास गराइएको थियो ।
विद्यालयका प्रँचार्य टीकाराम पुरीले शिक्षकको भाषिक क्षमता सुदृढ भएमा मात्र विद्यार्थीको भाषा विकास प्रभावकारी हुने उल्लेख गर्दै यस्तो प्रशिक्षण अत्यन्त उपयोगी भएको बताए ।
उनका अनुसार शिक्षण पद्धतिलाई समयसापेक्ष र विश्वस्तरीय बनाउन विद्यालयले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ । सोही सहकार्यअन्तर्गत काठमाडौं विश्वविद्यालयसंगको सम्झौता अनुसार प्रशिक्षण आयोजना गरिएको हो ।
सहायक प्रँचार्य कुन्दन पुरीका अनुसार प्रशिक्षणमा भाषा विकासका विधि, यसको निरन्तरता र विद्यार्थीमा भाषिक क्षमता अभिवृद्धि गर्ने उपायबारे व्यवहारिक अभ्यास गराइएको थियो ।
प्रशिक्षणमा सहभागी शिक्षक भोजकुमार श्रेष्ठले तालिम प्रभावकारी भएको बताउँदै लेखन, अध्ययन सहपाठीबीचको छलफलले भाषिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अनुभव भएको सुनाए ।
यस्तै शिक्षिका कञ्चन थापाले प्रशिक्षणले आफूलाई अद्यावधिक हुन प्रेरित गरेको र विद्यार्थीको बुझाइअनुसार बहुभाषिक शैलीमा अध्यापन गर्दा सिकाइ अझ प्रभावकारी हुने कुरा बुझ्न मद्दत पुगेको बताइन् ।
यसैबीच, शिक्षक–शिक्षिकाको भाषा विकासलाई निरन्तरता दिन एभरेष्ट स्पिकर क्लब गठन गरिएको छ । क्लबले वर्षमा कम्तीमा ६ पटक भाषा विकाससम्बन्धी कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेको छ ।
अर्का सहायक प्राचार्य टीएन भण्डारीले दुई दिने प्रशिक्षणले शिक्षण प्रक्रियालाई थप व्यवस्थित र परिस्कृत बनाउन महत्वपूर्ण योगदान पुगेको बताए ।
विद्यालयले अध्यापनलाई विश्वस्तरीय बनाउने उद्देश्यले रातो बंगला फाउन्डेसन, कारखाना तथा बेलायतको डीजी स्कुललगायत विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।
View : 117
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved