राष्ट्रियसभा निर्वाचन
विराटनगर । राष्ट्रियसभाको आगामी निर्वाचनमा कोशी प्रदेशमा जम्मा ३ सिटका लागि चुनाव हुनेछ । निर्वाचन आचारसंहिता नै लागू गरेर निर्वाचन आयोगले तयारी धेरै अघि पुर्याइसकेका बेला राजनीतिक दलहरू पनि उम्मेदवार सिफारिसको चरणमा पुगेका छन् ।
यसैक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिले जिल्लाबाट आएका सबैको नाम केन्द्रलाई पठाइदिएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाई सदस्य नयाँ आउनेछन् । सोही बमोजिम मुलुकभरी १८ पदका लागि निर्वाचन हुनेछ । राष्ट्रपतिबाट मनोनित हुने एक जना सदस्यको पनि पदावधि सकिनेछ ।
कोशीमा दलिततर्फ एक जना, महिलातर्फ १ र अन्य समूहतर्फ १ जनाको निर्वाचन हुनेछ ।
दलित कोटाबाट कोशीबाट निर्वाचित गोपी अछामी, अन्य समूहबाट देवेन्द्र दाहाल र महिला कोटाबाट निर्वाचित इन्दु गौतमको कार्यकाल सकिने भएपछि माघ ११ मा राष्ट्रियसभा निर्वाचन हुनेछ । उनीहरूमध्ये मोरङका अछामी माओवादीबाट निर्वाचित भएका हुन् भने एमालेका दाहाल र इन्दु गौतम क्रमशः झापा र सुनसरीका हुन् ।
कोशीका यिनै तीन पदमा हुने निर्वाचनका लागि कोशी कांग्रेसले नाम सिफारिस गरेको हो । तर, तीन पदका लागि १२० भन्दा बढीको नाम प्रदेशले सिफारिस गरेको छ । अन्य समूहको एक सिटका लागि कांग्रेस कोशी प्रदेश समितिले १२० जनाभन्दा बढी उम्मेद्वारको नाम केन्द्रलाई सिफारिस गरेको छ ।
‘अन्य समूहबाट १०८ जनाको नाम सिफारिस भएको छ,’ कांग्रेस कोशी सभापति उद्धव थापाले भने ‘१४ वटै जिल्लाबाट सिफारिस भएर आएका नामहरू प्रदेशले केन्द्रलाई पठाइदिएको छ ।’
कांग्रेस प्रदेश समितिका एक नेताले दिएको जानकारी अनुसार अन्य समूहतर्फको एक जना उम्मेदवारका लागि कोशीबाट धनकुटाका सुनिलबहादुर थापा, झापाका सुधीरकुमार शिवाकोटीसहित १०८ जनाको नाम सिफारिस भएको छ ।
अन्य समूहबाट कोशीबाट सिफारिसमा परेका धनकुटाका थापा राप्रपा नेता सूर्यबहादुर थापाका छोरा हुन् । बुबा सूर्यबहादुर थापाको निधनपछि कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा यसअघि कांग्रेस सहमहामन्त्री भएका थिए ।
पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार रहेका थापाले राष्ट्रियसभाको उम्मेदवार बन्नकै लागि सल्लाहकार पदबाट राजीनामा दिइसकेका छन् । कांग्रेस केन्द्रले उनलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने तयारी गरेपछि उनको राजीनामा आएको थियो ।
यसैगरी एक जना महिला उम्मेदवारको सिटका लागि कोशीबाट धरानकी लक्ष्मी खतिवडासहित कांग्रेसले ९ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै १ जना दलित उम्मेदवारको सिटका लागि नेता मीनबहादुर विश्वकर्मासहित ७ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस कोशीका सभापति उद्धव थापाले भने ‘जिल्लाहरूबाट आएका नाममा हामीले कँटछाँट नगरी आएका नाम सबै पठाएका छौं ।’ केन्द्रीय समितिले राष्ट्रियसभा तथा प्रतिनिधिसभाका लागि प्रदेशबाट सिफारिस भएका नामहरू गोप्य राख्न भनेकाले अहिले नै नामहरू भन्न नसक्ने उनले बताए ।
‘राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नाम सिफारिस गरेर पठाएका छौं, नाम चाहिं अहिले कसैको पनि भन्न मिल्दैन’ थापाले भने । कांग्रेस कोशी प्रदेश समितिले तेह्रथुमबाट प्रतिनिधिसभा उम्मेदवारको सूचीमा सीता गुरूङको नाम थपेको छ । तेह्रथुमबाट महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको थियो ।
प्रदेशले भने निवर्तमान सांसद गुरूङको नाम पनि थपेर केन्द्रमा पठाएको हो ।
प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि महामन्त्री थापाको एकल नाम सिफारिस भएपछि कांग्रेस तेह्रथुममा असन्तोष सुरू भएको थियो । एउटा मात्रै निर्वाचन क्षेत्र भएको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन् ।
यसपटक जिल्ला कार्यसमितिले सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्दा गुरूङको नाम समेटेको थिएन । तेह्रथुम कांग्रेसका नेताहरूले दिएको जानकारी अनुसार यसपटक जिल्लाबाट उम्मेदवारको नाम सिफारिस हुँदा संस्थापन पक्षले यसअघि चलाएको अनुशासनको कारबाहीले मुख्य रूपमा काम गरेको थियो ।
तेह्रथुम कांग्रेसका नेता एवम् संविधान सभा सदस्य तुलसी सुब्बालाई कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो । शेखर कोइराला निकट सुब्बालाई कारबाही गर्नुको कारण निवर्तमान सांसद गुरूङले दिएको उजुरी थियो ।
सुब्बाले आफूलाई निर्वाचन हराउन खोजेको आरोप लगाउँदै गुरूङले अनुशासन समितिमा चुनाव लगत्तै निवेदन दिएकी थिइन् । अनुशासन समितिले संस्थापन इतर पक्षकालाई छानीछानी कारबाही गरेको भन्दै कोइराला पक्षले आपत्ति जनाएको थियो ।
तेह्रथुम कांग्रेसका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेसहितका नेताहरू गुरूङको विपक्षमा उभिएपछि उनको नाम सिफारिसमा परेको थिएन ।
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved