विराटनगर । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी तथा उद्यमशीलताको मार्गमा सहभागी गराउने उद्देश्यले स्थानीय तहस्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी परियोजनाको सहकार्यमा झापाको मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघ झापासँग सहकार्यसम्बन्धि बैठक गरिएको हो ।
महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष ऋषि तिम्सिनाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थितिमा सम्पन्न बैठकमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरणका उपायबारे छलफल गरिएको हो ।
महासंघले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिंदै तिम्सिनाले मेचीनगर क्षेत्रमा रहेका सेवा तथा उत्पादनमूलक उद्योगहरूले फर्किएका जनशक्तिको सीप र दक्षता उपयोग गर्न सके उत्पादन लागतसमेत घट्ने बताए ।
मेचीनगरका मेयर बुढाथोकीले विदेशबाट फर्किएका तथा बेरोजगार युवालाई लक्षित गरी स्थानीय उद्योग र होटल क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न नगरपालिकाले समन्वय गरिरहेको बताए ।
मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले आफ्नो भेनियर उद्योगमा करिब ६० जना सीपयुक्त जनशक्तिलाई रोजगारी दिन सकिने जानकारी दिए । होटल अस्वथका प्रतिनिधिले पनि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताए ।
भेनियर संघका अध्यक्ष श्याम न्यौपाने र अलैंची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले युवालाई स्वरोजगार बनाउन आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
रेमी परियोजनाकी कार्यक्रम अधिकृत रिता विश्वासले परियोजनाबारे जानकारी दिंदै फर्किएका श्रमिकलाई सीप विकास र उद्यम प्रवद्र्धनमा सहयोग गरिरहेको बताइन् ।
महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले महासंघ र रेमी परियोजनाको सहकार्यमा सञ्चालित कार्यक्रमहरूको विवरण प्रस्तुत गरेका थिए ।
मेचीनगर नगरपालिकाका रोजगार परामर्शदाता फडिन्द्र दाहालले नगर क्षेत्रमा रहेका वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
View : 73
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved