विराटनगर । खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडास्थित विश्वज्योति माध्यमिक विद्यालयकी शिक्षिका ५७ वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर ज्यान गएको छ ।
लामीडाँडास्थित घरबाट विद्यालय जानेक्रममा बिहीबार बिहान ९ बजेर ४५ मा बाटो माथिबाट खसेको पहिरोले पुरिएर शिक्षिका नेवारको घटनास्थलमै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।
उनी विद्यालय पुग्न करिव १५० मिटरमात्रै बाँकी हुँदा वडा कार्यालय नजिकै माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको जनाइएको छ ।
पहिरोले पुरिएकी शिक्षिका नेवारको शव स्थानीय बासिन्दा र प्रहरीले करिव डेढ घण्टा लगाएर निकालेको थियो । वडा नं. ३ का वडाध्यक्ष वीरेन्द्र मगरले उक्त स्थानमा निरन्तर पहिरो खस्ने गरेको जानकारी दिए । उनले आज शिक्षिकाको सोही ठाउँमा पुरिएर निधन भएको बताए ।
शिक्षिका नेवारसहित अरु पनि सँगै रहेका थिए । तर उनीहरु भने भागेर ज्यान बचाउन सफल भएको जनाइएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ लगिएको जनाइएको छ । शिक्षिका नेवार २०५७ सालदेखि उक्त विद्यालयमा कार्यरत थिइन् । उनी केहि महिनापछि नै अनिवार्य अवकाश हुँदै थिइन् ।
View : 4340
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved