विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका कर्मचारीले बिरामीलाई ढाँटेर बढी रकम लिएर ठगी गरेको पाइएको छ । बिरामीले तिर्ने रकमको बिलबाट पैसा खाँदै आएका तीन जना पक्राउ परेका छन् भने अरू बारे छानविन हुँदैछ ।
पक्राउ पर्ने तीनै जना बिल काउण्टरमा ४/५ वर्षदेखि काम गर्दै आएका थिए । बिरामीलाई सघन उपचार कक्षबाट साधारण उपचार कक्षमा सारिए पनि बिलमा पुरानै कक्षको रकम लिने गरेको पाइएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले नै सुत्केरीलाई दिने प्रति ब्यक्ति एक हजार रूपैयाँ पनि उनीहरूले नै नक्कली हस्ताक्षर गरेर लिने गरेको पाइएको छ ।
पक्राउ पर्नेमा विराटनगर निवासी सूर्यप्रकाश बराल र करणदेव विश्वासका साथै सुनसरी दुहबी निवासी राजेशकुमार फौदार छन् । तीनै जना बिलिङ काउण्टर र डिश्चार्ज काउण्टरमा सिफ्ट ड्युटी गर्दै आएका थिए । उनीहरूको बिहान, बेलुका र राति गरी तीन सिफ्टको ड्युटी हो । कति बिरामीको रकम खाए भन्ने यकिन हुन सकेको छैन । अस्पताल प्रशासनलाई सबै छानविन गर्न लामो समय लाग्ने बताइएको छ ।
उनीहरूबाट सयौं बिरामी ठगिएको भएपनि बिरामीले नै ठगिएको थाहा पाएका छैनन् । बिरामीले पाएको बिल र अस्पतालको रेकर्डमा भने फरक रकम उल्लेख छ । तर, अस्पतालबाट गइसकेका बिरामीले शंका लागेर बिल जाँचका लागि आउने अवस्था देखिंदैन । नोबेलका महाप्रबन्धक दीपेश राईका अनुसार एउटा बिरामीको बिल र अस्पतालको रेकर्ड बीच मेल नखाएपछि छानविन गरिएको थियो ।
रेकर्डमै नदेखिने गरी रकम हिनामिना गर्ने गरिएकाले पत्ता लगाउन केही दिन लागेको र त्यसपछि छानविन र कारवाहीका लागि प्रहरीमा जाहेरी दिएको उनले बताए । ‘बिरामीबाट पैसा पूरा लिने बिल थोरैको दिने गरेको पाइयो, धेरै कुरा हेर्नुपर्ने छ छानविन हुँदैछ’ राईले भने । अस्पतालले अरू पनि कर्मचारीले यसरी बिरामीको रकम खाएको हुन सक्ने आशंका गरेर कतिपयलाई छानविनको दायरामा ल्याएको छ ।
शंकामा परेका कर्मचारीले राति पनि अस्पतालमै बसेर वर्षौदेखि आफूले गरेको हिसाब बुझाउन लगाइएको छ । बिरामीको रकम लिएर खल्तीमा हालेको सीसीटीभी फुटेज पनि अस्पतालले प्रहरीलाई उपलब्ध गराएको छ ।
बिल भर्पाइबाट पनि उनीहरूले रकम हिनामिना गरेको प्रमाण पाइएपछि नियन्त्रणमा लिइएको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । बराल र फौदार पक्राउ परेको तीन दिनपछि शुक्रबार विश्वास पक्राउ परेका थिए ।
View : 161
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved