विराटनगर । सिखु खोलाले बगाएर ल्याएको गेग्र्यानले बहाव रोकिएको थुलुङ दुधकोशी गाउँपालिका–२ को वातिम र वडा नम्बर ४ को बादेको सीमानामा सोलुखुम्बुका सुरक्षा निकायले मंगलबार स्थलगत अनुगमन गरेका छन् ।
सिखु खोलाको बाढीले गत शनिबार राती बगाएर ल्याएको गेग्र्यान थुप्रिंदा उक्त स्थानमा दुधकोशी नदीको बहाव अवरोध भएर करीव एक किलोमिटरसम्म पानी जमिरहेको छ ।
बहाव पूर्ण रुपमा नखुल्दा उत्पन्न हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा सुरक्षा निकायले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनपछि प्रजिअ घिमिरेले तत्कालका लागि जोखिम नरहेको बताए । उनले दूधकोशीको बहाव अवरुद्ध भएर पानी जमेको भने स्वीकार गरेका छन् ।
दूधकोशीको बहावमा अवरोध भएको स्थानमै कोशी प्रदेश सरकारको बहुबर्षीय सडक कार्यक्रम अन्तरगत १५ करोडको लागतमा निर्माणाधिन पक्की पुलको पिलर र स्पान पुरिएको छ ।
प्रजिअ घिमिरेले सिखुखोलामा आएको बाढीले दूधकोशी नदीमा ढुंगा थुपारेका कारण नदीको धार भने परिवर्तन गरेको बताए ।
यता, सुरक्षा निकायको अनुगमन हुने जानकारी पाएपछि प्रभावित स्थानमा पुगेका स्थानीयले भने आफू हरूलाई दुधकोशी थुनिएको होइन भनेर बोल्न लगाएको आरोप लगाएका छन् ।
‘पानी जमेको चार पाँच दिन भइसक्यो, तर आज आएर सुरक्षा निकायले नै दूधकोशी थुनिएको होइन भनेर बोलिदिन आग्रह गरेका छन्’ एक स्थानीयले भने, ‘सदरमुकामबाटै मिडिया लिएर आएर रहेछन्, हाम्रो धानखेत डुबाएको छ, हामीलाई त कसैले केही सोध्दै सोधेनन्, क्षति भएको देखिदेखि दूधकोशी थुनिएकै होइन भनेर भन्न मिल्छ त ?’
उनीहरूले डुबानबाट प्रभावितको लगत संकलन गरी क्षतिपूर्ति दिन माग गरेका छन् ।
स्थानीय प्रशासनले अनुगमनका क्रममा प्रभावित किसान र जनप्रतिनिधिहरूसँग छलफल समेत नगरेको जनाइएको छ ।
View : 829
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved