Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

यसरी साकार बन्दैछ सुवाषश्रीले देखेको सपना

उद्‌घोष संवाददाता
२४ असार २०८२, मङ्गलवार

विराटनगर । सन् २०११ मा तत्कालीन मनमोहन स्मृति पोलीटेक्निक हाँक्ने जिम्मेवारी लिएर प्रवेश गर्दैगर्दा डा. सुवाषश्री पोखरेलको ध्येय एउटै थियो, मनमोहनलाई मुलुककै नमूना प्राविधिक शिक्षालय बनाउने । 

पोखरेल र उनको टिमको निरन्तर मेहेनत र लगनकै परिणामले मनमोहन पोलिटेक्निक चारपटक देशकै सर्वोत्कृष्ट प्राविधिक शिक्षालय बन्न सफल भयो । त्यही बेलादेखि हो, पोखरेल मनमोहनलाई मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय बनाउन कस्सिएको ।

आज मनमोहन प्राविधिक विश्वविद्यालय मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय बन्न सफल मात्रै भएको छैन, प्राविधिक शिक्षाको क्षेत्रमा मुलुकमै उदाहरणीय काम गर्न पनि सफल भइरहेको छ । यसको मुख्य नेतृत्वकर्ताका रुपमा छन् उनै पोखरेल, जो यो विश्वविद्यालयका मुख्य परिकल्पनाकार हुन् ।

मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालयमा रुपान्तरण गराउने मुख्य अभियन्ता हुन् । ‘विगतमा देखेको एउटा ठूलो सपना क्रमशः साकार हुँदै गएको छ, त्यसले उत्साही तुल्याउँछ’, दोस्रो कार्यकालका लागि विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका डा. पोखरेल भन्छन् ‘निश्चय नै चुनौती धेरै छन् । ती सबैसँग जुध्ने सामथ्र्य विश्वविद्यालयले बटुलिरहेको छ ।’

२०७४ मा जब मुलुक संघीय अभ्यासमा गयो, त्यहीबेला मनमोहन पोलिटेक्निकले विश्वविद्यालयको स्वरुप ग्रहण गरेको थियो ।

विश्वविद्यालय बनाउने सपना देखिरहेका पोखरेलले त्यही बेला नेता भरतमोहन अधिकारीलाई भेटेर मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालय बनाउन सकिने प्रस्ताव सुनाएका थिए । 

भरतमोहन उनको योजनाबाट प्रभावित मात्रै थिएनन्, पोलिटेक्निकलाई दिइरहेको उनको सफल नेतृत्व क्षमतास“ग पनि परिचित थिए ।

‘एकदमै राम्रो प्रस्ताव तपाईं अघि बढ्नुस्’, आफ्नो समयका सबैभन्दा सफल अर्थमन्त्री भनेर चिनिएका भरतमोहनले पोखरेललाई हौसला दिए । भरतमाहेनको ग्रिन सिग्नलले उनलाई उत्साही तुल्यायो । 

‘धेरैजसो योजनाहरु त बुनिसकेको थिएँ, त्यसपछि चाहिं प्रष्ट मार्गचित्र नै बनाइयो’ पोखरेलले सम्झिए ‘लगातारजसो तयारीमा जुटियो । 

तत्कालीन प्रदेश १ सरकारसँग निरन्तर सम्वाद भयो । योजना सुनाइयो ।’ एक जना प्राज्ञिक व्यक्तिको सपना, योजना र उत्साहका अघि राजनीतिक नेतृत्व विश्वस्त बन्न पुग्यो । त्यसपछि स्थापना भएको थियो यो विश्वविद्यालय ।

तत्कालीन प्रदेश १ सरकारले २०७५ को नीति तथा कार्यक्रममा प्राविधिक विश्वविद्यालय बनाउने योजना समावेश गर्‍यो । अनि समाजिक विकास मन्त्रालयले  कानुनी परामर्शदाता अधिवक्ता कोषराज न्यौपानेसहितको कार्यदल बनाएर सम्भाव्यता  अध्यन गरेपछि  विधेयक तयार पार्‍यो ।     

विधेयक प्रदेश सभामा दर्ता भयो । राजनीतिक रुपमा विपक्षमा रहेका दलहरुको केही विरोधका वावजुद  प्रदेश सभाबाट बहुमतले विधेयक पारित भयो । उक्त विधेयक १६ असोज २०७६ मा प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालयको कानुन बन्यो । 

अब मनमोहन स्मृति पोलिटेक्निक सञ्चालन गर्दै आएको मनमोहन स्मृति प्रतिष्ठानले कूल २ अर्ब ६५ करोड बराबरको आफ्नो सबै सम्पत्ति र सञ्चालनको दायित्व २०७६ कात्तिकमा तत्कालीन प्रदेश १ सरकारलाई ६५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने गरी हस्तान्तरण गर्‍यो । 

नेपालका सर्वाधिक लोकप्रिय र निष्कलंक प्रधानमन्त्री मानिने  मनमोहन अधिकारीको स्मृतिमा स्थापना भएको प्रतिष्ठानमार्फत सञ्चालन भइरहेको ‘मनमोहन स्मृति पोलिटेक्निक’ अब कोशी सरकार मातहतको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा रुपान्तरित हुन सफल भयो ।

अहिले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना हुनेवित्तिकै ग्रामीण क्षेत्र भनेर चिनिएको बुढीगंगा गाउँपालिका अब विस्तारै ‘स्मार्ट सिटी’ का रूपमा विकास हुने चरणमा छ ।

मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयका रुपमा मनमोहन आज जुन विन्दुमा पुगेको छ, त्यसका लागि डा. पोखरेल र उनको नेतृत्वमा रहेको सिंगो टिमको रगत पसिना खर्च भएको छ । 

सयौं–हजारौं विद्यार्थीको भरोसा र अभिभावकहरुको आड, स्थानीयबासीको लगाव र सरकारको ढाडसले यहाँसम्मको यात्रा सम्भव भएको उपकुलपति पोखरेल बताउँछन् । 

उनले विश्वविद्यालयको जग हाल्न जे जसरी खटेका छन्, आफ्नो वल, विवेक र बर्कत जुन रुपमा खन्याएका छन्, त्यसलाई प्रत्यक्ष अनुभूत गर्नेहरु उनको मुक्तकण्ठले प्रशंसा गर्दछन् ।

बुढीगंगा–४ का स्थानीयवासी सीताराम चौधरी  निर्धक्क भन्छन् ‘डा. पोखरेल त्यागी र सपना देख्ने दुरदर्शी शिक्षाविज्ञ रहेछन् । उनकै नेतृत्वमा यहाँ विश्वविद्यालय यो रुपमा ठडिन सम्भव भएको छ ।’ 

विश्वविद्यालय बनाउने सपना पूरा गरेका उपकुलपति पोखरेल सपना देख्न छाडेका छैनन् । भनिन्छ, निदाएर देखिने सपनाको खास अर्थ हुन्न । तर, मान्छेलाई निदाउनै नदिने सपना देख्नु सबैभन्दा राम्रो काम हो । 

‘अनुसन्धानमा आधारित दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालय बनाउनु अबको हाम्रो मुख्य लक्ष्य हो,’ पोखरेल भन्छन् ‘हाम्रो टिम यही सपना पूरा गर्न दिनरात लागिरहेको छ ।

पदाधिकारी, शिक्षक, विद्यार्थी सबैको संयुक्त हातेमालोमा हामी यो सपना पूरा गरेरै छाड्नेछौं ।’ यसका लागि उनी बलियो सरकारी भरथेगको अपेक्षामा छन् । 

‘प्राविधिक शिक्षामा सरकारले जति बढी लगानी गर्‍यो, मुलुक उत्तिकै धेरै छिटो समृद्धितिर अग्रसर हुन्छ’ पोखरेलको एकसूत्रीय अभियान छ ‘यो मर्ममा हाम्रो सरकार कन्भिन्स हुँदै जाला । हुनैपर्छ ।’

पछिल्लो समय विश्वविद्यालयले उच्च शिक्षालाई खोज, अनुसन्धानमूलक, नवप्रवद्र्धनमुखी र व्यावसायिक बनाउने कदम चालिरहेको छ । यसका लागि अनुसन्धान केन्द्र स्थापना गरेर मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधिहरूको उत्पादन तयारी सुरु गरेको छ । 

विश्वविद्यालयले नेपालकै जडिबुटी प्रयोग गरेर औषधिजन्य तेल तथा बामको व्यावसायिक उत्पादन गर्न तयारी सुरु गरेको हो ।

उपकुलपति डा. पोखरेलले सञ्चो प्रकारका तेल र बाम उत्पादन गरी त्यसको अहिले व्यावसायिक परीक्षण भइरहेको बताएका छन् ।

विश्वविद्यालयको आफ्नै अनुसन्धान केन्द्र र जनशक्तिले उत्पादन गरेको औषधिजन्य उत्पादनको व्यावसायिक नामका लागि सार्वजनिक अपिल गर्ने तयारी पनि भइरहेको उनले बताए ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रमा सञ्चालन भइरहेको १० वटा अनुसन्धानमध्ये दुईवटा अनुसन्धानलाई ब्याक्टेरियोफेज सम्बन्धी अनुसन्धानमा अघि बढाइरहेको जनाएको छ ।

त्यस्तै नेपाली जडिबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार गर्ने विशेष अनुसन्धानलाई विशेष महत्व दिइएको विश्वविद्यालयका उपकुलपति डा.पोखरेलले जानकारी दिए । उनले आफ्नै प्रयोगशालामा अनुसन्धान गरी आयुर्वेदिक औषधिहरूको उत्पादनको तयारी भइरहेको बताए ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रुपमा बजेट विनियोजन नभएको उपकुलपति पोखरेलले दुखेसो गर्ने गरेका छन् । यद्यपि प्राविधिक शिक्षालाई उच्च महत्व नदिई नहुने अवस्था आउने अपेक्षामा उनी छन् ।

उपकुलपति पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमा प्राविधिक शिक्षालाई केवल प्रमाणपत्रकै रूपमा नभई व्यवहारिक दक्षतासँग जोड्ने अभ्यासलाई सशक्त रूपमा अघि बढाएकाले सोही अनुसारको बजेट हुनुपर्ने माग गरेका छन् । 

विश्वविद्यालयले प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सबै कार्यक्रममा गरी विश्वविद्यालयमा ९ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपालको समृद्धिको ढोका प्राविधिक शिक्षा र नवप्रवद्र्धनले मात्र खोल्न सक्ने उल्लेख गर्दै उनले मनमोहन विश्वविद्यालय प्रदेशकै मात्र नभएर राष्ट्रकै प्राविधिक नेतृत्वकर्ता बन्ने दिशामा अघि बढिरहेको बताए । 

उनले सोही अनुसार विश्वविद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै डिजिटल प्रणालीको उच्चतम प्रयोगमार्फत शिक्षण प्रणालीलाई आधुनिक बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

सुनसरीको दुहबीमा जन्मेका, सुनसरीमै विद्यालय तहको पढाइ सकेका उनले जे विषयमा विशेषज्ञता हासिल गरे त्यसले उनलाई संसारको जुनसुकै कुनामा उच्च तहको आकर्षक जागिर दिलाउन सक्थ्यो । तर, जागिर खाएर सजिलो जिन्दगी विताउने विकल्प उनले नरोजेको उनका सहपाठीहरु बताउँछन् । 

सूचना तथा सञ्चार विषयमा स्नातकोत्तर गरेका उनले दक्षिण कोरियाको ‘चोङबुक नेशनल युनिभर्सिटी’बाट विद्यावारिधि गरेका छन्  । 

सोही विश्वद्यिालयमा अनुसन्धानकर्ताको रूपमा तीन वर्ष जागिर खाएर आफ्नै देशमा केही गरेर देखाउने अठोटले स्वदेश फर्केका उनी सन् २०११ मा मनमोहन प्रवेश गरेका थिए ।

अन्तर्राष्ट्रिय रुपमा ख्याती आर्जन गरेको विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्केका उनले विश्वले गरिरहेको प्रगति बुझेका थिए । देखेका थिए । त्यही ज्ञानलाई उनले आफू जन्मेको माटोमा कार्यान्वयन गर्ने सपना साँचेका थिए । अहिले त्यो पूरा हुने क्रममा छ । 

‘प्राविधिक तथा नयाँ नयाँ विषयहरु पठनपाठन गराउने अनि विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा क्षेत्रीय तहकै अनुसन्धान केन्द्र बनाउने दिशामा हामी अग्रसर बनिरहेका छौं’ पोखरेलले दोहोर्‍याए ‘यसका लागि हामी सरकारको बलियो साथ र अभिभावकत्व चाहन्छौं ।’

View : 1562

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved