भोजपुर, २३ जेठ । ‘भोजपुर बजारको डाँडागाउँस्थित घरबाट हिंडेर फत्तेपुर, चतरा, धनकुटा, हिलेदेखि नून–तेल, लत्ताकपडा, खाद्यान्न बोकेर १० दिनपछि घर फर्किन्थ्यौं । बाटोमा लस्करै हिड्ने सोलु, ओखलढुङ्गाबाट आएकासँग गीतको भाकामा सुर कस्दै ढाकर, कुम्लो कुटुरो बोकेर घर आइपुग्दा परिवारमा खुशीयाली छाउँथ्यो । जुनबेला सडक, गाडीको कल्पना नै थिएन’ भोजपुर नगरपालिका–७ का नन्दमणि राई भन्छन्–अझ हाम्रो पालामा गाडी आउने विश्वासनै थिएन ।
जिल्लामा राजाको सवारी हुँदादेखि पटक–पटक विन्तीपत्रमार्फत सडक माग गरिन्थ्यो । पछिल्लो समय सडकसँगै गाडी आयो, नयाँ पुस्तामा खुशी पनि आयो । राई अगाडि भन्छन् – वि.सं. २०५४ सालतिर ब्रिटिस सरकारको अनुदानमा स्थानीयले कुटो, कोदालेमार्फत कृषि सडक (हाल मध्यपहाडी लोकमार्ग) विस्तार गरेका थियौं ।
विसं २०६५ सालमा र्याप संस्थाको अगुवाहीमा बाटोको ट्रयाक खोल्ने काम भयो । सोही मार्गबाट टक्याक्टर पहिलो पटक भोजपुर बजारमा स्थानीय श्याम श्रेष्ठले भित्र्याएको राईको भनाइ छ । संखुवासभा–भोजपुरलाई जोड्ने अरूण नदीमा पक्की पुल विसं २०७२ सालमा बनेपछि सडक निर्माणले तिव्रता पाएको थियो । त्यसपछि सवारी साधनहरू पनि आउन थाले । जिल्लाको अधिकांश क्षेत्रमा बस, ट्रक, ट्याक्सी, ट्याक्टर, एम्बुलेन्स, मोटरबाइकलगायत सवारी साधन आवतजावत गर्न थाले ।
सडक सञ्जालले नजोडिदा २०७४ सालमा रामप्रसादराई–४ निवासी ५३ बर्षीया महिलालाई काठको बीममा तन्नाको झोलुङ्गो बनाई तयार गरिएको डोलीमा राखी ६ जना स्थानीयले ६ घण्टामा जिल्ला अस्पताल लगेको स्मरण दलगाउँका घमचन्द्र दाहालसँग तीतो अनुभव छ ।
दाहालका अनुसार सो घटना पश्चात ठेकेदारले निमार्णधिन अवस्थामा विचल्ली पारेर छाडेको सडक निर्माण गर्न स्थानीयहरू लागि परेका थिए । स्थानीयका उपस्थितिमा सडक निर्माणको माग गर्दै पूर्वाधार विकास कार्यालय भोजपुर, जिल्ला समन्वय समिति भोजपुर, भोजपुर नगरपालिका र रामप्रसादराई गाउँपालिकामा धर्ना दिइएको थियो । भोजपुर–टक्सार–गुम्बाहुँदै गोगने लेखर्क जोड्ने करिब ६० किलोमीटरको सडक निर्माणले पुनः तीव्रता पायो । हाल सो क्षेत्रका स्थानीय सजिलै सवारीसाधनमा आवतजावत गर्न थालेको दाहालले बताए ।
अहिले जिल्ला सदरमुकाम र भोजपुरका नौ स्थानीय पालिका केन्द्र र ८१ वटै वडाको केन्द्रसम्म सडक विस्तार भएका छन् । ग्रामीण भेगसम्म सहजै सवारीसाधन पुग्दा स्थानीयले आफनै गाउँमा उत्पादन भएको दूध, फलफूल, काठदाउरा आदि बेचेर मनग्गे आम्दानी गर्दै आएका छन् । बैदेशीक रोजगारीबाट गाउँ फर्किएर कृषि व्यवसाय गर्दै आएका अरूण गाउँपालिका–६ जरायोटारका अर्जुन श्रेष्ठले व्यवसाय वृद्धि गर्ने योजना राखेका छन् । उनी भन्छन्, ‘सडक घरमै आएको छ, आवश्यक घाँस, दाउरा, मल, बीउ, खाद्यान्न ल्याउन तथा उत्पादन भएका सामग्री बजारसम्म सजिलै बेच्न लान सकिन्छ ।’
भोजपुर जिल्लालाई मध्यपहाडी राजमार्गले पूर्वी लेगुवा–प्याउली–तिवारीभञ्जयाङ–श्यामशिला–जिल्ला सदरमुकाम भोजपुर–दावा पश्चीम चखेवासम्म जोडेको छ । उक्त सडकमार्ग हुँदै दैनिक सयौं सवारीसाधन आवतजावत गर्दछन् । सडक सञ्जालको विस्तारसँगै स्थानीय गाउँमा भएका उत्पादनहरू विक्री वितरणका लागि बजारसम्म पुर्याउन धेरै सहज भएको छ । साना मालबाहक गाडी, टयाक्टरलगायत सवारीसाधनले घरबाटै सामान बजारसम्म पुर्याउँछन् ।
सुन्तला तथा फलफूलको सिजनमा दावाँमा करौडोको व्यापार हुन्छ । प्रायः सबैको घरमा सडक पुगेको छ, सुन्तला भएका घरमा धरान, धनकुटा, विराटनगर, काठमाडौंका व्यापारी घरमै आएर ३–५ लाखसम्म बोल कबोल गर्छन् । पहिला फालाफाल हुने सुन्तला अहिले बोटमै मूल्य निर्धारण भई विक्री हुने दावााका स्थानीय डिल्ली थापाले जानकारी दिए । उनी भन्छन्, ‘सडकले गाउँले जीवन फेरिदिएको छ, गाउँमा उत्पादन हुने सबै सामग्री बाहिर निर्यात हुन्छ । जसले पारिवारिक आयआर्जन बढ्दै गएको छ ।’
जिल्लाको पूर्वी क्षेत्रका नागरिकहरूले भने सवारीसाधनको प्रयोग अन्य क्षेत्रका नागरिकको भन्दा अलि चाँडो गर्न पाएका थिए । धेरै दुःख गरेर नुन, तेल, चामल, खाद्यान्न, लत्ताकपडा ल्याउनुपर्ने बाध्यतालाई सडक सञ्जालले सहज बनाइदिएको पौवादुङ्मा गाउँपालिका सानोदुम्माकी इन्दिरा प्रधानले बताइन् ।
सडक बनेसँगै धरान, इटहरीलगायत बाहिरी जिल्ला आवतजावत गर्न र विरामी पर्दा छिटै अस्पतालसम्म पुग्ने सजहता, छोराछोरीलाई विद्यालय जान आउन धेरै सहज भएको विजयवासका मानबहादुर श्रेष्ठले बताए । विकास जनताले आभास गर्ने हुनुपर्दछ । जुन गरिब, मध्यम, धनी सबै वर्गलाई उतिकै वितरण हुने गर्दछ ।
प्रदेश संरचना विस्तारपछि विकासमा फड्को
जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय भोजपुरले सडक निर्माण तथा स्तरोन्नतीको कार्य गर्दछ । पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर यादवका अनुसार जिल्लामा कार्यालय स्थापना पश्चात १ सय किलोमिटर सडक निर्माण तथा स्तरोन्नती, साढे ५ किलोमिटर भोजपुर–टक्सार सडक पिच, ३९ किलोमिटर भोजपुर–दिङ्ला जोड्ने सडक र २० किलोमिटरको षडानन्द–१२ बोया–तुर्केपुल–झयाउँपोखरी–साङपाङ–फालिदोबाटो जोड्ने सडक पिच गर्ने अन्तिम तयारीमा रहेको छ ।
त्यस्तै कार्यालयमार्फत प्रदेश सरकारको सहयोगमा रामप्रसादराई र भोजपुर जोड्ने पिखुवा खोला पुल र पिखुवा खाल्डे पुल, अरूण र षडानन्द जोडने बवखुवा खोला पुल र बङखुवा खोला पुल, बेहेरे दोभान पुल र रामप्रसादराई गाउँपालिकाको आरीखोला पुल, यखुवा खोला पुल आमचोक, श्यामखोला पुल षडानन्द र रावते खोला पुल टेम्केमा गरी ७ वटा पुल निर्माण सम्पन्न भएका छन् । सडक निर्माण अन्तरगत कटिङ, चौडा स्तरोन्नती अन्तरगत सोलिङ, ग्राभेलीङ, ग्यावीन, नाली निर्माण लगायत कार्य भएका छन् ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने भोजपुर–टक्सार एयरपोर्ट सडक प्रदेश सरकारले पिच गरिदिएपछि अहिले धुलो,धुवा तथा हिलोको समस्या हटेको स्थानीय भोजपुर नगरपालिका–१२ टक्सारका राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार, ‘टक्सार स्थित पौयाँपानीका अधिकांश स्थानीय गोलभेडा, सागसब्जी तथा फलफूल बेच्न र सदरमुकाम बजारमा व्यापार व्यवसाय गरेर आर्थिक आम्दानी राम्रो हुन्छ, मुख्य सडक पिच भएपछि सबैको घरमा गाडी सहज आवतजावत हुँदा स्थानीय खुशी भएका छन् ।
मार्सेनी निर्माण कम्पनीका निर्माण व्यवासायी श्याम श्रेष्ठले आफूसँग गुणस्तरीय कार्य गर्नका लागि पर्याप्त समय, स्रोत साधन, प्रविधि भएकाले जिम्मा लिएको काम सम्झौता अवधिमै सम्पन्न गर्दै आएको दावी गरे ।
साल्पासिलिछो गाउँपालिका–५ दोभानेका स्थानीय प्रजा राईले भने, ‘दोभानेबाट जिल्ला सदरमुकम जान हिंडेर २ दिन लाग्ने ठाउँमा सवारीसाधनबाट ४ घण्टामा पुग्न सकिने अवस्था बनेको सुनाए । ‘यो त खुशीको कुरा हो तर विना योजना जथाभावी वडामा सडक खन्दा, भत्काउँदा बर्खामा बाढी पहिरोको जोखिमसँगै सडकमा क्षति समेत बढाएको छ’ राईले भने –योजना निर्माणमा सरकारबीचको तालमेल पनि मिल्नुपर्छ ।
स्थानीय तहको पहल सार्थक
भोजपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले सडक सञ्जाल विकासको पहिलो खुड्किलो भएको दावी गरेका छन् । वि.स २०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात प्रत्येक गाउँमा जनप्रतिनिधि चुनिएपछि सडक विस्तारले झन तिव्रता पाएको छ । भोजपुर नगरपालिकाको १२ वटै वडामा सडक सञ्जालको राम्रो पहुँच रहेको छ ।
आफू प्रमुखमा निर्वाचित भएपछि कामको पहिलो योजना पालिका क्षेत्रमा सडक विस्तार, स्तरोन्नती र बाह्रैमास चल्ने कृषि सडक विस्तार गर्ने थियो, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले भने । आफू दोस्रो कार्यकाल पनि प्रमुखको रूपमा निर्वाचित भएँ अहिले सदरमुकाम बजार क्षेत्रको मुख्य मुख्य सडक पिच र वडा कार्यालयसम्म जाने सडक बाह्रैमास चल्ने भएका छन् ।
सीमित स्रोत साधनका कारण कृषि तथा ग्रामीण सडक बर्खामा २–३ महिना बाहेक निरन्तर चलिरहेका छन् । यता, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँ तथा वडास्तरमा सडक विस्तार भएका छन् । ट्रयाक खुल्ला मात्र नभएर बाह्रैमास प्रयोग हुने सडक निर्माण गर्नु हाम्रो प्राथमिकता छ । सडक सञ्जाल स्थानीय सरकारले मात्र पूरा गर्ने योजना नभएकाले प्रदेश र संघीय सरकारले निमार्ण गर्नुपर्ने हुन्छ, जसका निम्ति हामी निरन्तर लागी परेका छौं ।’
सडकसँगै पर्यटनको खुल्यो ढोका
सडक सञ्जालको पहुँच राम्रो हुँदै गएपछि धार्मिक तथा पर्यटकीय क्षेत्रहरू टेम्केडाँडा, चखेवा भञ्ज्याङ, मुन्धुम पदमार्ग, साल्पापोखरी, मैयुङ, षडेश्वर महादेव मन्दिर, दिङ्ला बजारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ । चखेवा भञ्जयाङमा रहेको नमुना होटल एंण्ड लजका सञ्चालक विशाल राईका अनुसार पदमार्ग क्षेत्रमा दैनिक ६० जना भन्दा बढी पर्यटकहरूको आवतजावत हुन्छ ।
मैयुङको हाँसपोखरी भन्दा माथि ढुङ्गाखर्केका मुन्धुम गोठ स्टेका सञ्चालक दुर्गाधन राईका अनुसार पदयात्रामा आन्तरिक तथा बाह्य देशका नागरिक आउने क्रम बढ्दो छ । उनका अनुसार अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडालगायत देशका पर्यटकहरूले स्थानीय उत्पादन चौरीको दूध, फापर, कोदो, गहुँको ढिडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत खानेकुरा खाइदिदा आफूहरूलाई राम्रो आम्दानी भएको छ ।
जिल्लाबाट शेरधन राई र राजेन्द्र राई दुई जना मुख्यमन्त्री हुँदा सडक सञ्जाल विस्तारका लागि धेरै सहज भएको थियो । प्रायः संघीय र प्रदेश सरकार गठनमा जिल्लाबाट निर्वािचत सांसद मन्क्री हुने र जिल्लाको आवश्यत्ताका आधारमा आफूहरूले उनीहरूलाई घचघचाई रहने भएकाले सडक निर्माणका योजनाहरू बढी प्राथमिकतामा परेको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले बताए ।
सडक सञ्जालको विस्तार हुँदै गर्दा स्थानीयले दुःख पनि पाएका छन् । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाउँदा खेतीयोग्य जमिन मासिने, बाढी, पहिरोबाट जोखिम बढ्न जाने, प्राकृतिक स्रोत–साधनको दुरूपयोग तथा चोरी हुने, सडक दुर्घटनाका कारण घरपरिवारका सदस्य गुमाउनु परेको समेत रहेको छ ।
View : 171
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved