विराटनगर । नेपाली क्रिकेटमा ‘टाइगर’ उपनामले चिनिने दीपेन्द्रसिंह ऐरी टी २० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
विश्वभरीका धेरै अलराउण्डर हस्तीहरुलाई पछाडि पार्दै ऐरीले आफूलाई यो वरियतामा उभ्याएका हुन् ।
विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले अक्टोबर १ मा सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै आफूलाई दोस्रो स्थानमा पुर्याएका हुन् ।
नेपालका दीपेन्द्रभन्दा अगाडि पहिलो स्थानमा इङ्ल्याण्डका लियाम लिभिङस्टोन मात्रै छन् । ऐरीले अष्ट्रेलियाका मार्कस स्टोयनिस, जिम्बावेका सिकन्दर राजा, श्रीलंकाका वानिन्दु हसरंगा र अफगानिस्तानका मोहम्मद नाबीलाई पनि पछि पारेका छन्। भारतका हार्दिक पाण्ड्या सातौं स्थानमा छन् ।
ऐरीभन्दा वरियतामा पछाडि रहेका यी सबै क्रिकेटहरु विश्व क्रिकेटका हस्ती मानिन्छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा मात्रै नभई विश्वकै चर्चित फ्रेञ्चाइजी लिगमा समेत उनीहरुको नाम ठूलो छ ।
ती सबै ठूला नामलाई पछि छाड्दै नेपाली क्रिकेटरले वरियतामा उल्लेख्य सुधार गरेका हुन् ।
नेपालका कुशल मल्लको पछिल्लो वरीयता भने खस्किएको छ । उनी ६ स्थान तल झर्दै ४० औँ स्थानमा पुगेका छन् । रोहित पौडेलको वरियता यथावत रहँदा गुल्शन झाले ११ स्थान सुधार गरेका छन् ।
रोहित र गुल्शन ५३ औँ स्थानमा छन् ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेका कुशल भुर्तेलको बरियतामा ६ स्थान सुधार देखिएको छ । करण केसी ७१ औँ स्थानमा यथावत रहँदा अन्य खेलाडी एक सयभित्र अटाउन सकेका छैनन् ।
ताजा वरीयतामा ऐरीले ब्याटिङतर्फ २ स्थान सुधार गरेका छन् । यअसघि ४५ औँ स्थानमा रहेका दीपेन्द्र अहिले ४५ औं स्थानमा आइपुगेका छन् । बलिङतर्फ भने एकैपटक २३ स्थानमा सुधार गरेका छन् । बलिङतर्फ इङ्ल्याण्डका लियाम लिभिङस्टोनसँगै ७० औँ स्थानमा छन् ।
टी २० वरीयतामा नेपाल १७ औँ स्थानमा छ ।
View : 232
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved