दमकको बालुवाटार जग्गा घोटाला
विराटनगर । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका नेकपा माओवादीका कोशी प्रदेश समितिका कोषाध्यक्ष रेवतराज पुरी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् ।
विशेष अदालतले झापा दमक नगरपालिका–१३ स्थित बालुवाटार जग्गा घोटलासम्बन्धि मुद्दामा गगन पुरी नामले चिनिएका उनीसहित मालपोत कार्यालयका कार्यरत तत्कालिन कर्मचारीहरूको समूहलाई नै भ्रष्टाचारी ठहर गरेको हो ।
बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कु“वर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले दुईवटा मुद्दामा पुरीसहित १९ जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना हुने गरी सजाय सुनाएको छ ।
उनीहरू विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एउटा मुद्दामा १७२ जना र अर्को मुद्दामा १८७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये एउटा मुद्दामा ९ जना र अर्कोमा १० जना दोषी ठहर भएका हुन् ।
पुरीलाई पहिलो मुद्दामा एक वर्ष कैद र बिगो अनुसार दामासाहीमा पर्ने २० लाख ८३ हजार ६७१ रुपैयाँ जरिवाना हुने विशेष अदालतले फैसला गरेको छ । अर्को मुद्दामा समेत पुरीलाई एक वर्ष कैद र ३१ लाख ५२ हजार ५५९ रुपैयाँ जरिवाना हुने अदालतले फैसला गरेको हो ।
पुरीविरुद्ध २०७७ माघमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । उक्त मुद्दा चलिरहेकै बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट माओवादी केन्द्रबाट उम्मेदवार समेत बनेका थिए ।
पुरीमाथि २० बिघा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरी सम्पत्ति बढाएको आरोप लागेको थियो ।
उनले २०२१ सालको नापीमा सरकारी सार्वजनिक जग्गा कायम भएका साविक दमक ६ ग का कित्ता नम्बर ७६०÷१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७ र ७८८ का जग्गा विभिन्न व्यक्तिहरूको नाममा दर्ता गराएको अनुसन्धानले देखाएको थियो ।
२०६४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनेपछि माओवादीको भ्रातृ संगठन ‘वाईसीएल’ को प्रभावलाई आफ्नो शक्तिका रुपमा प्रयोग गरेर पुरीले रतुवा खोला र दिपिनी खोलाको किनारमा रहेको बालुवाटार क्षेत्रमा आँखा लगाएका थिए । उनले खोला तटबन्ध र जग्गा संरक्षणका नाममा सत्ता र शक्तिको प्रयोग गर्दै त्यहाँ सरकारी बजेट खन्याएका थिए ।
नदी उकासमा परेको करीव ६० बिघा उक्त सरकारी जग्गालाई पुरीले गोप्य रुपमा माओवादीकै कार्यकर्तामार्फत सुकुम्वासीले कब्जा गरेको घोष्णा गराएका थिए ।
पुरीले उक्त जग्गामा रहेको झाडी क्षेत्रमा डोजर लगाएर खेतीयोग्य जमिनका रुपमा तयार पारे । र, त्यसैलाई आफ्नो बाउबाजेले वर्षौंदेखि खेती कमाई गर्दै आएको उक्त जग्गा भन्दै ‘स्ववासी जग्गा’ का रुपमा मालपोत कर्मचारीसँगको मिलेमतोमा आफू र आफ्ना परिवारका सदस्यका नाममा दर्ता गराएका थिए । अनुसन्धानका क्रममा पुरी र उनका परिवारका सदस्यको नाममा मात्रै कम्तिमा २० बिघा बढी जग्गा दर्ता भएको खुलेको थियो ।
व्यक्तिका नाममा दर्ता भएको ६० बिघा जग्गा सरकारीकरण गर्ने समेत विशेष अदालतले फैसला गरेको हो । यो मुद्दामा बुधबार विशेष अदालतले नापी कार्यालयका कर्मचारीहरूलाई समेत दोषी ठहर गरेको छ ।
नापी कार्यालयका तत्कालीन नापी अधिकृत शशिकान्त झा, नापी अधिकृत रामदेव मण्डल, सर्वेक्षकहरू सीताराम यादव, विन्देश्वर पञ्जियार, विष्णुदेव यादव, रामकुमार दास, गणेशकुमार धिमाल, अमिन ललितकुमार मण्डल र नासु रुद्रप्रसाद श्रेष्ठलाई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा दोषी ठहर गरेको हो ।
उनीहरूलाई तीन महिनादेखि एक वर्षसम्मको कैद तथा १८ हजारदेखि १८ लाख रुपैयाँसम्म बिगो जरिवाना तिराउने फैसला भएको जनाइएको छ ।
पुरी सँधै प्रचण्डकै वरिपरी
यो जग्गा घोटालामा प्रकरणमा विशेष अदालतले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पुरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । उनी पूर्वमा प्रचण्ड उपस्थित हुने अधिकांश कार्यक्रममा अघिपछि देखिंदै आएका छन् ।
‘बालुवाटार जग्गा घोटाला–२’ नामकरण भइसकेको जग्गा घोटालामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भइसकेपछि पनि भ्रष्टाचारको प्रखर विरोधी कित्तामा रहेको स्वघोषणा गर्दै आएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पूर्वी यात्राका क्रममा अघिपछि देखिने गरेका थिए ।
उनले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएपछि प्रदेश कमिटीको कोषाध्यक्षबाट राजिनामा दिएको माओवादी नेताहरूले बताएका थिए ।
तर प्रचण्डकै उपस्थितिमा विराटनगरमा आयोजित प्रदेश कमिटीको बैठक र प्रशिक्षणमा भने पुरी प्रचण्डको स्कर्टिङमा अघिपछि दौडिंदै गरेका देखिन्थे ।
पुरीको उपस्थिति र सक्रियताको बिषयमा भने त्यतिबेलै केही माओवादी नेताहरूले असन्तुष्टि जनाए । तर पुरीको गतिविधि प्रचण्डकै अघिपछि देखिएका कारण उनीहरू सार्वजनिक रुपमा भने मुख फोर्ने आँट भने गरेनन् ।
प्रचण्ड निकट भएकै कारण उनले २०७४ को स्थानीय तह निर्वाचनमा झापाको दमक नगरपालिकाको मेयरका लागि टिकट पाएर चुनाव लडे पनि पराजित भएका थिए ।
View : 494
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved