विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ को भएको घटनाको जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकाप्रति एमाले कोशीले प्रश्न उठाएको छ ।
कार्कीले अध्यक्ष बन्नुअघि नै सबैजसो विषयमा निष्कर्ष निकाल्दै फैसला नै गरिसकेको व्यहोरा सामाजिक सञ्जालमा देखिएको भन्दै एमाले कोशीले विज्ञप्तिमार्फत उनका कार्यक्षमतामाथि प्रश्न उठाएको हो ।
एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले मंगलबार विज्ञप्तिमार्फत त्यस्तो जाँचबुझ आयोगमा रहने व्यक्ति तटस्थ र निष्पक्ष हुनुपर्नेमा जोड दिए । तर कार्कीले पहिले नै पक्षधरता देखाएको एमालेले उल्लेख गरेको छ ।
‘जाँचबुझ आयोगमा रहने व्यक्ति तटस्थ र निष्पक्ष हुनुपर्नेमा उहाँको जुन पक्षधरता देखिएको छ यसले विधिको शासनको खिल्ली उडाएको हाम्रो निष्कर्ष छ’ खतिवडाले विज्ञप्तिमा भनेका छन्, ‘अध्यक्ष कार्कीलाई जिम्मेवारीबाट मुक्त गरि निष्पक्ष र तटस्थ व्यक्तिहरु आयोगमा नियुक्त गर्न माग गर्दछौं ।’
जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष एंवम पूर्वपधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का तथा रद्द गर्न सिफारिस गरेको विषयमा समेत प्रदेश कमिटीले आपत्ति जनाएको छ ।
सरकारले भदौ २४ को घटनाका दोषीहरूलाई आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारवाही अगाडि नबढाउने गृह मन्त्रालयको धारणाले सरकार र आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।
‘भदौ २४ को विध्वंशकारी घटनामा संलग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्रधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडी नबढाउनु भनेर गृह मन्त्रालयले नेपाल प्रहरीलाई गरेको निर्देशनले पनि सरकार र आयोगको भुमिका प्रष्ट पारेको छ’ विज्ञप्तिमा भनिएको छ ‘त्यति मात्र नभई आयोगका अध्यक्षको नेतृत्वमा भएका पछिल्ला कार्यशैली र निर्णयहरूले आयोगकै विश्वसनीयता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेका छन् । यस्तो पक्षपाती कार्यशैलीले संवैधानिक निकायप्रति जनताको विश्वास कमजोर पार्ने खतरा बढेको छ । यस विषयमा हाम्रो पार्टी गम्भिर चासो व्यक्त गर्दै नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न माग गर्दछ ।’
एमाले कोशीले देशभित्र आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार र जनजीविकाका सवाललाई सम्बोधन गर्न असफल सरकार अहिले प्रतिपक्षी नेतामाथि राजनीतिक प्रतिशोध लिने असंवैधानिक प्रयासमा लागेको ठहर गरेको छ ।
ओलीजस्तो राष्ट्रिय नेता विरुद्ध गरिएको यस कदम लोकतन्त्र, न्याय र राजनीतिक संस्कृतिप्रति प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।
ओलीको पासपोर्ट रोक्का रद्द सम्बन्धी सिफारिस तुरुन्त फिर्ता गरी आयोगका अध्यक्ष कार्कीलाई जिम्मेवारीबाट मुक्त गरि निष्पक्ष र तटस्थ व्यक्तिहरू नियुक्त गर्न एमालेको माग छ ।
साथै, जेनजी आन्दोलनको भावनालाई ध्यान दिदै नयाँपुस्ताको विचार सुन्ने, छलफल गर्ने जस्ता कार्यमा पार्टी कमिटीहरू क्रियाशील हुनपनि समेत आह्वान गरेको जनाइएको छ ।
View : 556
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved