Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

साफ माहिला च्याम्पियनसिप :

रोमाञ्चक र तनावपूर्ण खेलको टाइब्रकेरबाट भारतलाई हराउँदै नेपाल फाइनलमा

उद्घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

भारतविरुद्ध १० खेलाडीमा सिमित हुँदा पनि गोल गर्न सफल भएपछि सेलेब्रेसन गर्दै नेपाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) । तस्वीर : गोलनेपाल

विराटनगर । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा भारतसँगको रोमाञ्चक टाइब्रेकरमा जित हाँसिल गर्दै फाइनमा प्रवेश गरेको छ । दशरथ रंगशालाको मैदानमा केही तनावपूर्ण अवस्थामा विचलित नभई नेपालले भारतलाई पराजित गरेको हो । 

नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । फुत्किसकेको नतिजालाई गोल मेसिन सावित्रा भण्डारी (साम्बा) ले बराबरी गर्दै एक एक गोलमा रोक्न सफल भइन् । त्यसपछि सिधै भएको टाइब्रकेरमा नेपालले भारतलाई पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । 

पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट निकै अवसर पाएर पनि चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न सकेनन् ।

मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा रेखाले दोहोरो पहेँलो कार्ड पाइन् । फलस्वरुप उनले मैदान छोड्नु परेको थियो । 

नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरु समेत केहीबेर तनाबमा उत्रिए । उनीहरुले मैदानमा पानीको बोतल समेत फ्याँकेर आक्रोस पोखे । तर नेपाली टोलीको आग्रह अनुसार उनीहरु सम्हालिएको थियो । 

दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएको थिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा रेफ्रीकै संकेत पाएर नेपालकी प्रिती राईले गोल फर्काएकी थिइन् । तर भुटानकी रेफ्रीले उक्त गोललाई मान्यता दिइनन् । त्यसले मैदानमा दर्शकहरुलाई थप उत्तेजित बनायो । तनावकै कारण खेल लामो समयसम्म खेल रोकियो ।

खेल पुनः सुरु भएपछि साम्बाले नेपालका निकै उत्कृष्ट गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलियो । 

टाइब्रेकरमा भारतले दुईवटा मात्रै गोल गर्न सक्यो । नेपालकी किपर अन्जना मगरले टिमलाई फाइनल पुर्याउन भारतको दुई गोल रोक्न सफल भइन् ।

नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलबाट भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगिसकेको छ ।

View : 170

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved