Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

भरतपुर(चितवन), ५ भदौ । भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो ।

माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो ।  

पाठेघरमा सिष्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए ।

बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए । 

मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन ।

मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए । 

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान हुँदैछ । अस्पतालले समेत आन्तरिक छानविन समिति बनाएको जनाएको छ ।

मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भिर लापरवाही गरेको बताएका छन् ।

अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । रासस

View : 219

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved