Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले मोरङमा उम्मेदवार सिफारिश

तीन वटा क्षेत्रबाट ढकालको नाम, अरू को–को ?

उद्‌घोष संवाददाता
२१ पुष २०८२, सोमवार

विराटनगर । नेकपा एमाले मोरङका ३ वटा क्षेत्रीय कमिटीले विनोद ढकाललाई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिश गरेका छन् । 

लामो समय अध्यक्ष केपी शर्मा ओलीको टिममा रहेका मोरङका नेता ढकाल पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी–ईश्वर पोखरेल समूहमा छन् ।  

पार्टीको ११ औं महाधिवेशनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष  पोखरेलको समूहबाट सचिवको उम्मेद्वार बनेर पराजित बनेका ढकाललाई मोरङ क्षेत्र नम्बर १, ४ र ६ नम्बर क्षेत्रीय कमिटीले उम्मेदवारका रूपमा सिफारिस गरेका हुन् । 

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेभित्र उम्मेदवारहरूको नाम धमाधम सिफारिस भइरहेको छ । 

आइतबार मोरङका क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फको नाम सिफारिश गरेको मोरङ उपाध्यक्ष सागर थापाले जानकारी दिए । 

‘विनोद ढकालको नाम १, ४ र ६ नम्बर क्षेत्रबाट सिफारिस भएको छ’ उनले भने ।

नेता ढकाल २०७९ को चुनावमा मोरङ ४ बाट उम्मेदवार थिए । त्यसबेला उनी कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका अमनलाल मोदीसँग पराजित भएका थिए ।

एमालेमा यसअघि चुनाव जितेका अध्यक्ष ओलीसहितका उनका टिमका केहीको नाम एकल सिफारिस भइरहँदा मोरङमा भने कसैको पनि एकल नाम सिफारिस भएको छैन । 

झापा ५ बाट अध्यक्ष केपी शर्मा ओली र इलाम २ बाट सुहाङ नेम्वाङको नाम चाहिं एकल सिफारिश भइसकेको छ । 

०७९ को निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मात्रै एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका थिए । 

उनले कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरेका थिए । यसपटक पोखरेलको पनि नाम एकल सिफारिसमा परेन । त्यस्तै मोरङ ३ बाट उठ्दै आएका, २०७४ मा जितेर २०७९ मा कांग्रेसका सुनिल शर्मासँग हारेका सचिव भानुभक्त ढकालको नाम पनि एकल सिफारिस भएन ।

मोरङ २ का निवर्तमान एमाले सांसद पोखरेल प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति भएका थिए । उनकी पत्नी अञ्जला कोइरालाको नाम सहकारी ठगीमा जोडिएपछि पोखरेल पनि विवादमा परेका थिए । 

एमाले नेताहरूले दिएको जानकारी अनुसार मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, अग्नी भट्टराई,  विनोद ढकाल, शान्ति लिम्वू, योगेश वस्नेत, डिल्ली शर्मा  अधिकारी, भूपाल जिमीको नाम सिफारिस भएको छ । 

मोरङ २ बाट ऋषिकेश पोखरल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिश हुँदा क्षेत्र नं ३ बाट भानुभक्त ढकाल, बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचा नगर प्रमुख केदारप्रसाद गुरागाई , इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरूङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र वस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरी, निमा बस्नेत लगायतको नाम सिफारिस भएको छ ।

क्षेत्र नं ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव,  दिलसाद आलम र मनोज  अग्रवाल, विक्रम तिवारीको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । 

क्षेत्र नं ६ बाट विनोद ढकाल, लालबाबु पण्डित, पर्शुराम वस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरिएको छ । 

यी नामहरू जिल््लामा सिफारिस भएको र सोमबार बस्ने जिल्ला सचिवालय बैठकले प्रदेशमा पठाउनेछ ।

View : 189

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved