विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरूमा सोलार रूफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी, व्यवसायीहरूका साथ सोलार रूफटप सम्वन्धी अन्तरक्रिया भएको छ ।
नेपाल सरकारको उर्जा, जलश्रोत तथ सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा छलफल भएको हो ।
कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले सौर्य उर्जा उद्योगहरूका लागि सस्तो वैकल्पिक उर्जा भएको वताए । उनले पर्याप्त विद्युत उपलब्ध नभइरहेको अवस्थामा सौर्य उर्जाको उपलब्धता उद्योग सञ्चालनका लागि उत्तम विकल्प हुने वताउँदै यसको प्राविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा राखे ।
विश्वव्यापी रूपमा भइरहेको वातावरणीय प्रदुषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य उर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका सौर्य उर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य उर्जाको प्रवर्द्धनका माध्यमबाट कार्वन उत्सर्जनमा कमी ल्याउनु रहेको वताए ।
परियोजनाका डेपुटि टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्षका विषयमा जानकारी दिंदै सौर्य उर्जाको प्रयोगबाट उद्योगहरूले डिजल खपत घटाउन सक्ने वताए । उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत उपलब्ध हुनुका साथै प्रति युनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनिकरणमा समेत सहयोगी हुने स्पष्ट पारे ।
परियोजनाको वातावरणीय र सामाजिकविज्ञ अनुसुया जोशीले सौर्य उर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने बताइन् । एक मेगावाट भन्दा माथिको सौर्य उर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले आर्थिक पक्षबाट यो प्रविधि उपयुक्त भएको वताइन् ।
कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरू र विभिन्न उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरूको सहभागिता थियो ।
View : 125
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved