Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी सरकार गठनप्रति सुनिल शर्माको टिप्पणी

‘विद्रोह गरेको हो, पात्र कस्तो पर्यो छोडिदिनुस्’

उद्घोष सम्वाददाता
२४ फागुन २०८०, बिहिवार

विराटनगर । कांग्रेस– माओवादीबीचको गठबन्धनप्रति निरन्तर खरो उत्रिने गरेका प्रतिनिधि सभा सदस्य सुनिल शर्माले कोशी प्रदेशमा पनि प्रचण्डबिना बाँच्नै सकिँदैन भन्ने कांग्रेसका नेताहरूको धारणालाई बदल्न केदार कार्की नेतृत्वको सरकार बनाएको टिप्पणी गरेका छन् । उनले मुख्यमन्त्रीको पात्र कस्तो पर्यो भन्ने कुरा भने नहेर्न आग्रह गरेका हुन् ।

बिहीबार नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ ले आयोजना गरेको ‘नेपाली कांग्रेस र अबको बाटो’ विषयक साक्षातकार कार्यक्रममा बोल्दै शर्माले नेताहरूले कार्यकर्ताको भावना बुझ्न छाडेर कांग्रेसले प्राप्त गरेको मुख्यमन्त्री माओवादीलाई दिएपछि विद्रोह गर्नुपरेको प्रष्टिकरण दिए ।

‘कोशी प्रदेशमा हेर्नुहोस् आज प्रमाणित भयो, दुई तीन महिना अगाडिसम्म हाम्रै साथीहरू केन्द्रदेखि तलसम्म भन्दै हुनुहुन्थ्यो प्रचण्ड नभईकन बाँच्न सकिँदैन, भन्दै हुनुहुन्थ्यो प्रदेश १ मा कांग्रेसले पाएको सिट माओवादीलाई दिनुपर्छ, तर हामीले त्यसमा विद्रोह गर्यौँ’ शर्माले भने, ‘पात्र कस्तो पर्यो छोडिदिनुस्, मुख्यमन्त्री बनेको पात्र मलाई पनि मन नपर्ला, तपाईँलाई पनि मन नपर्ला ।’ 

पात्र जस्तो भएपनि कोशीमा आफूहरूले ठिक गरेको शर्माले दाबी गरे । उनले त्यो प्रयत्न सही थियो भन्ने कुरा अहिले प्रचण्डले कांग्रेसका नेताहरूलाई उल्टी कट हानेपछि चेतना भएको बताए ।

शर्माले उपल्लो तहमा बसेको नेताहरू इमानदार हुन जरुरी भएको बताए । नेताहरूले खल्तीबाट लिस्ट निकालेर चम्चे हुक्केलाई टिकट दिने गरेको र त्यस्ता नेताहरूलाई हामीले मानिदिनुपर्ने ? भन्दै प्रश्न गरे ।

कांग्रेसमा साथी, सोल्टिनी, सालीलाई सांसद मेयर बनाउने र पार्टीको पोर्टफोलियोमा राख्ने गरिएको आरोप पनि लगाए । उनले वर्षौँसम्म घरबार छोडेर राजनीतिमा लागेका दाजुभाइ दिदीबहिनीलाई चैं चाकडी कम भएका कारण आजीवन कुनै स्थान नदिने कुरा अन्त्य गर्नुपर्ने बताए । 

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालप्रति आक्रोश पोख्दै शर्माले एक वर्षसम्म पनि एउटा सुन तस्कर पक्राउ गर्न नसक्ने प्रधानमन्त्रीलाई साथ दिएर हिँड्नु परेको भन्दै नेतृत्वको आलोचना गरे ।

‘न सुन तस्कर पक्राउ पर्यो, न भुटानी शरणार्थीको फाइनल पैसा खाने मान्छेको अनुसन्धान भयो, न भन्सारबाट ब्ल्याकमा भित्रिने ह्विस्की, भन्सार छलीका सामान न तस्करी रोकियो’ उनले थपे, ‘त्यस्तो सत्ता समीकरण भित्र बसेर हामीले हो हजुर प्रचण्डले गरेको ठिक छ भनिदिनु पर्ने हो भने अब भन्नुपर्यो बीपी पथ सिद्धिएछ, कांग्रेसले प्रचण्डपथ बोकेर हिँड्नुपर्ने दिन टाढा थिएन, राम्रो भयो प्रचण्डजीले कांग्रेसलाई मुक्ति दिलाइदिनु भयो ।’

शर्माले गठबन्धन नगरी एक्लै चुनाव लडेको भए मोरङका ६ वटै क्षेत्रमा नेपाली कांग्रेसले जित्ने दाबी समेत गरेका थिए । अहिले भएको गल्तीलाई महसुस गरेर कांग्रेसले २०८४ मा बहुमत ल्याउने हैसियत राख्नुपर्ने बताए ।

View : 244

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved