बजार सूचकमा दोहोरो अंकको सुधार
काठमाडौं । गत सातासम्म गिरावट आएपछि करेक्सनतर्फ लागेको सेयर बजार सूचक सोमबार दोहोरो अंकले बढेको छ ।
नेप्से २१.३० अंकले बढ्दै २७६३.२६ विन्दुमा रहँदा बजार कारोबारको रकम ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ भएको छ । ७१ कम्पनीको सेयरमूल्य घटेको छ भने १७९ को बढेको छ ।
साताको पहिलो दिनका तुलनामा कारोबार रकम घटे पनि दोस्रो दिन सूचकमा भने उल्लेख्य सुधार आउनुलाई बजार विश्लेषकहरुले सकारात्मक रुपमा लिएका छन् ।
आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ को विन्दुमा रहँदा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो दिन कारोबारमा आएका उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका सूचक घटेका छन् भने ११ उपसमूह बढेका छन् ।
सेयरमूल्य बढेका कम्पनीमा दुईवटा पोजेटिभ सर्किटस्तरमा छन्। नारायणी विकास बैंक ९.९९ र विकास हाइड्रोपावर ९.९८ प्रतिशतले बढेका हुन् ।
सर्वाधिक कारोबार हुने ५ कम्पनीको सूचीमा नेपाल रिइन्स्योरेन्स पहिलो नम्बरमा छ । उक्त कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै हिमालयम रिइन्स्योरेन्सको २३ करोड ३३ लाख, हिमालयम डिष्टिलरीको २० करोड ६६ लाख, राधी विद्युतको १७ करोड ७१ लाख र छिमेक लघुवित्तको १७ करोड ६५ लाखको कारोबार भएको छ ।
प्रि-आइपीओको कारोबार नगर्न सेबोनको चेतावनी यसैबीच सोमबार नेपाल धितोपत्र बोर्ड(सेबोन) ले प्रि-आइपीओ नाम दिई सर्वसाधारणलाई सेयर बिक्री भइरहेका समाचारमा ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न सम्बद्ध पक्षलाई चेतावनी दिएको छ ।
'सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाहरुको सेयर प्रि-आइपीओका नाममा सामाजिक संजाल, इमेल र एसएमएसमार्फत् उक्त कम्पनीहरुको निकट भविष्यमा नै सार्वजनिक निष्कासन गरिने भन्दै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको' बोर्डको सूचनामा छ ।
प्रचलित कानुनमा प्रि-आइपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेको बोर्डले प्रष्ट पारेको छ ।
'बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरिन्छ,' सूचनामा भनिएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरीतका कार्य दण्डनीय भएको पनि स्मरण गराएको छ ।
View : 309
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved