विराटनगर । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आदिवासी जनजातिहरू राष्ट्रिय प्रतिष्ठा र देशकै गहना भएको बताएका छन् ।
शुक्रबार मोरङको रतुवामाईमा नगरपालिका–८ इटहरामा शुक्रबार आदिवासी जनजाति महासंघ समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति पोखरेल आदिवासी जनजातिको प्रतिष्ठालाई अझ सशक्त बनाउनुपर्ने बताए ।
उनले आदिवासी जनजाति दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सदनमा समेत उठाउने आश्वासन दिए । यस्तै पोखरेलले सिरुवा पर्वका विषयमा सरकारले आगामी वर्ष क्यालेन्डरमा राख्नुपर्ने बताए ।
नेपालमा विभिन्न जातजाति, भाषा, धर्ममा मानिसहरू बसेता पनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यस प्रकारको सहिष्णुतालाई दीर्घकालसम्म बचाएर राख्नुपर्ने पोखरेलको भनाइ थियो ।
नेपालको कुल जनसङ्ख्याको एक तिहाइभन्दा बढी जनसङ्ख्या आदिवासी जनजातिहरूको रहेको बताउँदै सभापति पोखरेलले विभिन्न सूचीकृत आदिवासी, जनजातिहरूको भाषा, संस्कृति, लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।
सभापति पोखरेलले जनजातिहरूसँग रहेका परम्परागत सीप तथा कौशललाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय मुलुकमा स्थिर सरकार गठन भएको र राजनीतिक स्थिरता कायम भएकाले अब विकास निर्माणको कामलाई मुख्य प्राथमिकतामा राख्ने समेत बताए ।
कार्यक्रममा सन्थाल, धिमाल, राजवंशी, थारू, नेवार, राई, लिम्बु, ताजपुरिया लगायत परिषद् आवद्ध जातीय संघसंस्थाले आ–आफ्नो मौलिक पहिरनमा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
समन्वय परिषद् आवद्ध १२ वटा जातीय संस्थाले सांस्कृतिक नृत्यका साथै झाँकी समेत प्रस्तुत गरेको अध्यक्ष डा. ओमप्रकाश सिंहले जानकारी दिए ।
परिषद्का उपाध्यक्ष रामकुमार राजवंशीले आदिवासी दिवस अगस्ट ९ को सन्दर्भ पारेर विश्वभरिका साथै परिषद्ले पनि नियमित कार्यक्रम गर्दै आएको बताए । उनले जल, जङ्गल र जमिनमा आदिवासीहरूको अग्राधिकार र भाषा, पहिचान संस्कृतिको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए ।
View : 402
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved