Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी

उद्‌घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

विराटनगर । नेपाल स्काउट कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान उपमहानगरपालिका–१६ का स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर भण्डारीलाई नियुक्त गरेका हुन् । 

नेपाल स्काउट नियमावली २०७७ बमोजिम प्रदेश परिषद्मा निर्वाचित प्रदेश परिषद् सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था बमोजिम भण्डारीको नियुक्ति भएको हो । 

२०६४ सालमा सुनसरी क्रियुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वाञ्चल विकास क्षेत्रको युवा परिषद्को अध्यक्ष भएका थिए । 

२०६७ सालमा झापाबाट स्काउट आधारभुत तालिम लिएर स्काउट लिडर बनेका उनले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिइसकेका छन् ।

साबिक तान्खुवा गाउँ विकास समिति–१ धनकुटा जन्मथलो भएका भण्डारी हाल धरान उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा हुन् । उनी धरानको शैक्षिक क्षेत्रमा सक्रिय व्यक्ति समेत हुन् ।

२०६८ मा सुनसरी जिल्ला स्काउट परिसद सदस्य हुँदै २०७७ सालमा पहिलो पटक संघीय संरचनामा स्काउट रुपान्तरण भएपछि कोशी प्रदेश तदर्थ समिति सदस्य भएका भण्डारी कोशी प्रदेशका स्काउट सदस्यता बृद्धि संयोजक समेत रहेका थिए । 

प्रदेश स्काउट आयुक्तमा नियुक्त भएका उनको ४ वर्षे कार्यकाल हुनेछ । उनलाई अब ११ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्ने बाटो समेत खुलेको छ । प्रदेश आयुक्त नियुक्ति पछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने उनले बताए ।

View : 337

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved