विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्किएका ३० वर्षीय युवकको ज्यान बचाएको छ ।
आर्थिक रुपले विपन्न अवस्थाका ती युवकले आत्महत्या गर्ने उद्देश्यले गत भदौ २९ गते आफैंले आफैंलाई खुकुरी प्रहार गरेका थिए । जसका कारण उनको भुँडीबाट आन्द्रा बाहिर निस्किएको थियो ।
प्रहरीसँगको समन्वयमा उनलाई उपचारका लागि उनलाई भाद्र ३० मा प्रतिष्ठानको आकस्मिक कक्षमा पु¥याइएको थियो ।
उनको आफन्त कोही नभएका कारण प्रहरीसँगको समन्वयमा उपचार गरिएको प्रष्तिठानले जनाएको छ । प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग र एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागका चिकित्सकहरूको टोलीले उनको उपचार गरेका हुन् ।
उनको आन्द्रा बाहिर निक्लिएर कुहिन थालेको अवस्थामा प्रष्तिठानको आकस्मिक कक्षमा ल्याइपु¥याइएका ती युवकको सफल उपचार गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए ।
‘बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो, बिरामीको अभिभावक कोही पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेशनका लागि अति आवश्यक पर्ने जाँच, रगतको व्यवस्था, औषधि र अपरेशनमा आवश्यक सामग्रीको व्यवस्था गर्न कठिनाई भएको थियो’ उनले भने, ‘अस्पताल प्रशासनले नै समन्वय गरेर भदौ ३१ गते अपरेशन गरिएको हो, अहिले उनको आन्द्रा जोडिएर स्वस्थ बनेका छन् ।’
उनको अपरेशनका क्रममा पेटमा जमेको रगत निकालेर कुहिएको आन्द्रा काटेर फालिएको र स्वस्थ्य आन्द्रालाई जोडिएको सह–प्रवक्ता डा. अभिजित कुमारले बताए । प्रतिष्ठानका चिकित्सकको टोलीले करीव चार घण्टाको समय लगाएर उनको अपरेशन सम्पन्न गरेको जनाइएको छ ।
अपरेशनपछि उनलाई आईसीयू र भेन्टिलेटरमा समेत राख्नु परेको थियो । अपरेशन भएको १४ औं दिनमा उनलाई प्रतिष्ठानको सर्जरी वार्डमा सारिएको र १६ औं दिनमा डिस्चार्ज गरिएको जनाइएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उनको उपचारको सम्पूर्ण खर्चको छुट सुविधा गरिदिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले बताए ।
धनकुटाको महालक्ष्मी नगरपालिकाका ती युवक करीव २० बर्षदेखि मादक पदार्थ सेवन गरी घर परिवारका सदस्यसँग झैझगडा गर्दै आएका थिए । उनी अहिले घरमै आराम गरिरहेको र निको हुँदै गएको जनाइएको छ ।
View : 119
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved