विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा रहेको सिँचाई पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु दाजुबहिनी भएको जनाइएको छ ।
सोमबार दिउँसो बाङमा गाउँदेखि करिव एक किलोमिटर टाढा रहेको भुतिया खोला नजिकै बनाइएको सिंचाई पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
स्थानीय गइन्द्र राईका ६ वर्षीय छोरा संगम राई र करीव ३ वर्षीया छोरी सम्वृद्धि राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुकी आमा बारीमा मकै भाँच्न गएको बेला घरबाट हिंडेका दुवैजना पोखरीमा डुबिरहेको फेला परेका हुन् ।
पोखरीको डिलमा दाजुबहिनीकै चप्पल र कपडा देखेपछि आमाले पोखरीभित्र हेर्दा उनीहरु डुबिरहेको देखेकी थिइन् ।
अपरान्ह ५:४५ बजेतिर पोखरीमा डुबिरहेको अवस्थामा फेला परेपछि उनीहरुलाई पोखरीबाट निकालिएको थियो ।
पोखरीबाट निकालुञ्जेल दुवैको ढुकढुकी भएको तर घरमा ल्याइपुर्याउँदा मृत्यु भएको जनाइएको छ ।
प्रहरी चौकी च्यास्मिटारबाट खटेको प्रहरीले घटनास्थलमा थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 228
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved