Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीको रामधुनीका सफारी चालक चौधरीको हत्यामा संलग्न सात जना सार्वजनिक

उद्‌घोष संवाददाता
२२ मंसिर २०८२, सोमवार

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो ।

हत्यामा संलग्न उनीहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोज तलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार बिहान पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले नहर डिलको सडकमा गोली प्रहार गरेको थियो ।

चौधरी प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरेर फरार भएका थिए । गोली लागेर गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

पक्राउ पर्नेहरूमा रामधुनी-१ झुम्काका ४३ वर्षीय राजेश भनिने राजकिशोर शाह सोही ठाउँका ४० वर्षीय नन्दकिशोर शाह, राजविराज-१६ का वर्ष २८ का अंकित शाह सोही ठाउँका वर्ष २८ कै प्रिन्सकुमार दास, भोक्राहनरसिंह गाउँपालिका-५ सुनसरीका ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगंज गाउँपालिका-४ का वर्ष ३७ का गियास मन्सुरी र देवानगज गाउँपालिका-५ बस्ने वर्ष २५ को मिथिलेस यादव रहेका छन् । 

सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार हत्याका कारण आर्थिक लेनदेनको विषयलाई लिएर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

View : 215

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved