विराटनगर । मोरङ कारागारमा लामो समयदेखि अशान्ति, कुटपिट तथा कैदीबन्दीमाथि शारीरिक र मानसिक यातना दिने गरेको आरोप लाग्दै आएको समूहका १९ जना कैदीबन्दीलाई अन्ततः विभिन्न सातवटा कारागारमा सरुवा गरिएको छ ।
कारागारको ‘बी ब्लक’मा प्रभाव जमाउँदै आएको समूहका अगुवा भारतीय नागरिक चञ्चल वर्मासहित १९ जनालाई झापा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली र पर्साका कारागारमा सरुवा गरिएको हो ।
उनीहरूलाई शनिबारसम्म सम्बन्धित कारागारमा पु¥याइसकिएको जेलर राजन घिमिरेले जानकारी दिए ।
लागूऔषधलगायतका शंकास्पद गतिविधि नियन्त्रण गर्ने भन्दै प्रहरीले यसअघि मोरङ कारागारभित्र ‘सर्च अपरेशन’ गर्ने प्रयास गरेको थियो । तर, कैदीबन्दीको विरोधका कारण प्रहरीका दुईवटा प्रयास असफल भएका थिए ।
कैदीबन्दीलाई अन्यत्र सरुवा गर्ने तयारी भएको सूचना पाएपछि उनीहरू आन्दोलनमा उत्रिदा कारागारमा बिहानदेखि रातिसम्म तनावको अवस्था सिर्जना भएको थियो ।
त्यतिबेला प्रहरीले १० जना कैदीबन्दीलाई अन्यत्र सार्ने तयारी गरेको थियो । यसपटक भने कैदीबन्दी आफैंले समूहका अगुवालाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएपछि सरुवा प्रक्रिया सहज भएको प्रहरीको भनाइ छ । सो क्रममा शुक्रबार बी ब्लकमा कैदीबन्दीबीच झडपसमेत भएको थियो ।
कारागार प्रशासनका अनुसार सीटी कमान्डरको भूमिकामा रहेका वर्माले आफ्नै समूह बनाएर कैदीबन्दीबाट विभिन्न शीर्षकमा रकम असुली गर्ने गरेको आरोप थियो ।
कारागारका प्रमुख चौकीदार मनिष विक भए पनि उनलाई वर्माले चलाउने गरेको आरोप लाग्दै आएको थियो ।
कारागार प्रशासनले विकलाई हटाएर विशाल निरौलालाई चौकीदार बनाएपछि वर्मा समूहले नयाँ चौकीदारलाई स्वीकार नगरेको बताइएको छ । नयाँ चौकीदार नियुक्त गरिएको जानकारी कारागार व्यवस्थापन विभागलाई समेत गराइएको थियो । तर, पुरानो समूहले निरौलालाई स्वीकार नगरेको र सुरक्षाको कारण देखाउँदै उनले पनि सरुवा मागेको कारागार प्रशासनले जनाएको छ ।
जेलर घिमिरेका अनुसार लामो समयदेखि कुटपिट, रकम असुली तथा शारीरिक–मानसिक यातना सहँदै आएका कैदीबन्दीले १९ जनाको सरुवापछि राहत महसुस गरेका छन् ।
‘कुटपिट, असुली, शारीरिक–मानसिक यातना सहेर बसेका थिए । तत्काललाई कारागारको समस्या टरेको छ,’ उनले भने, ‘यस्ता समस्या पुनः नदोहोरिऊन् भनेर कैदीबन्दीलाई पनि राम्ररी सम्झाएका छौं ।’
यसअघि वर्मा समूहको प्रभावका कारण कारागार प्रशासन र प्रहरीलाई उनीहरूसम्म पुग्नसमेत कठिन हुने गरेको सुरक्षा स्रोतको भनाइ छ ।
सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न खोज्दा शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गर्ने चेतावनीसमेत दिने गरिएको स्रोतले जनाएको छ । त्यसका कारण सुरक्षाकर्मीसमेत कारागारभित्र प्रवेश गर्न हच्किने अवस्था बनेको थियो ।
प्रहरीका अनुसार लामो समयदेखि समूहको दबाब र यातना सहँदै आएका कैदीबन्दीले उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएका हुन् ।
कारागारभित्र कैदीबन्दीबाट उठाइएको रकम बाहिरका व्यक्तिसम्म पुग्ने गरेको पाइएपछि उनीहरूलाई अन्यत्र सरुवा गर्ने प्रयास गरिएको प्रहरीको भनाइ छ ।
सुरक्षा स्रोतका अनुसार नयाँ कैदीबन्दी कारागार प्रवेश गरेकै दिन विभिन्न शीर्षकमा रकम दिन दबाब दिने गरिएको थियो ।
मन्दिर, पुस्तकालय तथा सरसफाइजस्ता कामका नाममा रकम माग्ने र रकम दिन नसके कुटपिट गर्ने गरिएको आरोप छ । कतिपय कैदीबन्दीले परिवारबाट रकम मगाएर समेत दिनुपर्ने अवस्था रहेको स्रोतको दाबी छ ।
मोरङ कारागारमा पछिल्लो विवाद विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि थप चर्किएको थियो ।
कैदीबन्दीले पाउने सरकारी भत्ता तथा कारागारभित्र उत्पादन हुने सामग्रीबाट प्राप्त रकम असुली गरेको आरोपमा प्रहरीले गिरीलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि भने उनी रिहा भएका थिए ।
गिरी पक्राउ परेपछि कारागारभित्रका ए र बी ब्लकका कैदीबन्दी दुई समूहमा विभाजित भएका थिए ।
बी ब्लकका कैदीबन्दी गिरीको पक्षमा र ए ब्लकका कैदीबन्दी विपक्षमा उभिएपछि विवाद थप चर्किएको बताइएको छ । गिरी यसअघि करिब तीन वर्षअघि मोरङ कारागारमै चौकीदारको भूमिकामा रहेका थिए ।
१९ जना कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिएपछि तत्कालका लागि मोरङ कारागारको तनाव कम भएको कारागार प्रशासनले जनाएको छ ।
दुई समूहमा विभाजित भएका थिए । बी ब्लकका कैदीबन्दी गिरीको पक्षमा र ए ब्लकका कैदीबन्दी विपक्षमा उभिएपछि विवाद थप बढेको बताइएको छ ।
गिरी यसअघि तीन वर्षअघि मोरङ कारागारमै चौकीदारको भूमिकामा रहेका बेला रिहा भएका थिए ।
१९ जनालाई अन्य कारागारमा सरुवा गरिएपछि तत्कालका लागि मोरङ कारागारको तनाव कम भएको प्रशासनले जनाएको छ ।
View : 126
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved