Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सागर थापाले पार्टी कार्यालयमै गरे पत्रकार सम्मेलन

आफूमाथि गरिएको कारवाही अलपत्र पारिदिने दिए चेतावनी

उद्घोष सम्वाददाता
४ असार २०८१, मङ्गलवार

पत्रकार सम्मेलनमा बोल्दै सागर थापा ।

पार्टीको साधारण सदस्यसमेतबाट निलम्वन गरिएका भनिएका नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले आफूहरूमाथि गरिएको कारवाही अलपत्र पारिदिने चेतावनी दिएका छन् । कारवाही गर्ने निकाय एमाले मोरङको पाञ्चालीस्थित पार्टी कार्यालयभित्रै सोमबार पत्रकार सम्मेलन गरेर थापाले आग्रह, पूर्वाग्रहले गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताए । उनले आफूमाथि गरिएको भनिएको कारवाहीको कुनै वैधता नभएको पनि जिकिर गरे ।

आसन्न पार्टीको जिल्ला अधिवेशनमा एकलौटी नेतृत्व कब्जा गर्ने मनसायले आफूहरूमाथि कारवाहीको मञ्चन गरिएको उनले आरोप लगाए । ‘म आउँदो जिल्ला अधिवेशनमा अध्यक्षको दावेदार ह“ु,’ उनले भने, ‘मानगढ खानेपानीको निर्वाचन त निहुँमात्र हो, खास कुरा अधिवेशन प्रभावित पार्नु हो ।’

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले सोही पार्टीका महानगर कमिटी अध्यक्ष थापासहित केही व्यक्तिलाई हालै कारवाहीको पत्र थमाएका छन् । कार्कीले मानगढ खानेपानीमा पार्टीका तर्फबाट उठाएका उम्मेदवारलाई थापासहितका केही व्यक्तिले असहयोग गरेको, अर्को उम्मेदवार उठाएको भनेर केही दिनअगाडि कारवाहीको पत्र थमाएका थिए ।

कार्कीले जेठ ३१ गतेमिति उल्लेख भएको कारवाहीको पत्रथापासहित महानगर कमिटीका उपसचिव नवराज नेपाल, वडा नम्बर ३ का कमिटी अध्यक्ष लालमणि भट्टराई, जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकी, महानगर कमिटी सदस्य सुरज न्यौपाने र सन्दीप पोखरेललाई थमाएका थिए । उनीहरूमाथि मोरङ पार्टीअध्यक्ष बाबुराम कार्कीले मानगढ खानेपानीको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर घिमिरेलाई असहयोग गरेको आरोप लगाएका छन् ।  उक्त निर्वाचनमा घिमिरे र एमाले वडा नं. ३ का अध्यक्ष लालमणि भट्टराई एउटै पदमा प्रतिष्पर्धामा उत्रिएका थिए । खानेपानीको निर्वाचन भने मतदान सम्पन्न भएर मतगणना चाहिँ अदालतको आदेशले रोकिएको छ । यता एमालेले निर्वाचनको परिणाम नआउँदै पार्टीको समान हैसियतको कमिटीमाथि जिल्ला कमिटीले कारवाहीको डण्डा बर्षाएको छ । उक्त कारवाहीलाई महानगर कमिटी अध्यक्ष थापाले पूर्वाग्रहले प्रेरित भएर शक्तिको दुरुपयोगका रुपमा अथ्र्याएका छन् ।

उनीसहित कारवाही तथा स्पष्टीकरण सोधिएका भनिएका ६ जनाले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा कुनै पनि तहको कमिटीको बैठक नबसी, छलफलमा नल्याई एकाएक प्रतिवेदनको हवाला दिएर कारवाहीको प्रक्रिया सुरु गरिएको उल्लेख छ । ‘कुनै पनि प्रतिवेदनहरूका विषयमा बैठकमा एजेण्डा बनाएर छलफल गरिने र पारित गरी स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो जवाफ नआएमात्र कारवाही गर्ने स्थापित मान्यता छ । तर, यी सबै विषयलाई बाहिर राखेर दर्ता चलानी समेत नगरी पत्रहरू दिइएकोे छ । यो प्रक्रिया हेर्दा पूर्वाग्रहले प्रेरित भएर शक्तिको दुरुपयोग गरिएको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले महानगर कमिटीको क्षेत्रभित्र पर्ने विषयमा जिल्ला कमिटीले समन्वय गर्नुपर्ने ठाउँमा हस्तक्षेप गरेको गुनासो गरेका छन् । उनीहरूले पार्टीको मोरङ र विराटनगर महानगर कमिटीको केही महिनाभित्र हुने अधिवेशन प्रभावित पार्न यस्ता गतिविधि गरिएको आरोप लगाएका छन् ।
 
‘पार्टीका आसन्न अधिवेशनहरूमा प्रभाव पार्ने र पार्टी नेतृत्वलाई गलत ढंगले सूचना दिने तथा कार्यकर्ताहरूको मनोबल गिराएर आफ्ना उद्देश्य पूरा गर्ने हिसाबले कारवाहीको प्रक्रिया अगाडि बढाइएको हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले खानेपानी उपभोक्ता समितिजस्ता गैरजनप्रतिनिधिमूलक संस्थाको निर्वाचनको विषयमा पार्टी विधानको दफा ८० लागू गर्न नमिल्ने पनि जिकिर गरेका छन् । ‘पार्टीको विधानकोे दफा ८० को ३ र ६ बमोजिम कारवाही गरेको पत्र बुझाइएको छ । तर, पार्टी विधानको सो दफा यो विषयमा आकर्षित हुने आधार छैन । विधानको सो दफामा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेलाई कारवाही गर्ने विषय उल्लेख छ । 
नेपालको संविधानले जनप्रतिनिधिमूलक संस्था भन्नाले संघीय, संसद, प्रदेशसभा, स्थानीय तह र जिल्ला समन्वय समिति तथा पालिका सभाका जनप्रतिनिधि भनेर परिभाषित गरेको छ’ जारी विज्ञप्तिमा भनिएको छ । उनीहरूले स्थानीय उपभोक्ताहरूबीच सहमति र सहकार्यबाट छनौट गरिने खानेपानी उपभोक्ता समिति जस्तो गैरराजनीतिक र गैरजनप्रतिनिधिमूलक संस्थाको निर्वाचनलाई विषय बनाएर सिंगो पार्टीलाई दाउमा नराख्न पनि अपील गरेका छन् ।
 

View : 213

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved