विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका विद्यार्थी इशल भट्टराई वक्तृत्वकला प्रतियोगिताको फाइनलमा भाग लिन सोमबार चीन प्रस्थान गरेका छन् ।
भट्टराई ‘सिक्स्थ बेल्ट एण्ड रोड इङ्लिस कम्पिटिसन’ अन्तर्गतको फाइनल राउण्डमा प्रतिस्पर्धा गर्न चीन गएका हुन् । प्रतियोगिता चाइना डेलीको आयोजनामा जेजिङ प्रान्तको ह्याङ्जुमा हुँदैछ ।
यसअघि भदौ महिनामा थाइल्याण्डमा सम्पन्न सेमिफाइनल राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलका लागि छनोट भएका भट्टराईले यसपटक विश्वका विभिन्न देशका प्रतिस्पर्धीहरूसँग प्रस्तुति दिने अवसर पाएका छन् ।
अमेरिका, क्यानडा, चीन लगायत मुलुकका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न पाउ“दा आफू उत्साहित भएको भट्टराईले बताए ।
भट्टराईले थाइल्याण्डमा ‘अहिलेको डिजिटल युगमा विश्व नागरिकका हैसियतले कसरी हामी विभेदहरू हटाउँदै आपसी एकता र सम्बन्ध सुदृढ गर्न सक्छौं” भन्ने विषयमा प्रभावशाली वक्तव्य प्रस्तुत गर्दै उत्कृष्टता हासिल गरेका थिए । नेपालबाट एभरेष्टका भट्टराई र काठमाडौंको काब्या स्कुलकी चारु आचार्य फाइनलका लागि छनोट भएका हुन् ।
सोमबार चीन प्रस्थान गर्नुअघि आइतबार एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले भट्टराईलाई सफलताको शुभकामना दिंदै विदाई गरेका थिए । प्रिन्सिपल पुरीले अन्तर्राष्ट्रिय फोरममा विद्यार्थीको सहभागिताले विद्यालयको शैक्षिक गुणस्तर प्रमाणित गरेको बताउँदै भट्टराईको सफल यात्राका लागि शुभकामना व्यक्त गरे ।
पुरीका अनुसार, अन्तर्राष्ट्रिय स्तरका यस्ता अवसरहरूले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्ने, विश्व संस्कृति बुझ्न सहयोग पुग्ने र विश्वका विकास क्रमहरू नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
‘हामी हाम्रो उद्देश्यमा दृढ छौं । यही विराटनगरबाट अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने हाम्रो संकल्प हो ।’
यसअघि विद्यालयका १२ जना विद्यार्थी असोज महिनामा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास (मोडेल युनाइटेड नेसन्स) मा सहभागी हुन भियतनाम गएका थिए ।
अब आगामी वर्ष विद्यार्थीहरूलाई यस्तै कार्यक्रममा सहभागी गराउन क्यानडा पठाउने तयारी भइरहेको विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले बताए ।
View : 192
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved