Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ग्रामथानका अध्यक्षद्वारा एकलौटी रूपमा गाउँसभा स्थगित

प्रमुख प्रशासकीय अधिकृतको भूमिकामाथि पनि उठ्यो प्रश्न

उद्‌घोष संवाददाता
३० असार २०८२, सोमवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको आइतबार तोकिएको गाउँसभाको बैठक सभा सदस्यहरू हलभित्र प्रवेश गर्नु अगावै अध्यक्ष नमोनारायण माझीले स्थगित गरेपछि प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीको भूमिकामाथि समेत चर्कोगरी प्रश्न उठेको छ । 

गाउँसभाका बहुमत सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृतले ‘पोजेटिभ रोल’ नखेलेका कारण अध्यक्ष र अरू जनप्रतिनिधिहरूबीच विवाद चर्किएको आरोप लगाएका हुन् ।

उनीहरूले कुनै पनि बैठक र निर्णय बिनै गाउँसभामा सुरक्षाकर्मी परिचालन गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन् । 

आइतबार विहान ११ बजेका लागि बोलाइएको गाउँसभा बैठक १२ बजेर १२ मिनेटमा सुरू भएपछि अध्यक्ष माझीले बैठकमा गणपुरक संख्या नपुगेको भन्दै ‘अर्को बैठक असार ३१ दिउँसो साढे ११ बजे बस्ने गरी’ स्थगित गरेको घोषणा गरेका थिए ।

गाउँपालिकामा विगतका कार्यपालिका बैठक र गाउँसभा बैठक भने तोकिएको समयभन्दा जहिल्यै ढिलो सुरू हुने र कार्यपालिका सदस्यहरूले कानुनी तथा नीतिगत प्रश्न गर्ने वितिक्कै अध्यक्ष माझी बैठक स्थगित गरेर बाहिरिने गरेका थिए । 

आइतबार बोलाइएको १७ औं गाउँसभाको चौथौं बैठकमा भने सभा सदस्य प्रवेश गर्नै लाग्दा अध्यक्ष माझीले बैठक स्थगित गरे । त्यसलाई प्रमुख प्रशासकीय अधिकृत भण्डारीले समेत ‘हो मा हो’ मिलाएर बैठक स्थगित भएको सूचना जारी गरे ।

गाउँपालिकाको कार्यालयभित्र उपाध्यक्ष गुणावती देवी थारूको कार्यकक्षबाट सभा सदस्यहरू हलमा प्रवेश गर्नै लाग्दा बैठक स्थगित भएपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै गाउँसभाको अपहेलाना गर्ने र अवैधानिक तरिकाले गाउँसभा सञ्चालन गर्न खोजेको आरोप लगाए । 

सभा सदस्यहरूले विगतमा तोकिएको समयमा बैठक नबस्दा पनि उपयुक्त समयमा सारेर बैठक बस्ने गरेको भन्दै भण्डारीलाई स्मरण गराए । तर प्रशासकीय भण्डारी भने आफूलाई ‘मौन’ राखेर जवाफबाट उम्किने प्रयासमा देखिएका थिए ।

‘सवैजनाको उपस्थिति हुँदाहुँदै पनि गणपुरक संख्या पुगेन भनेर निर्णय गर्ने ? तपाईँ अध्यक्षको मात्रै सदस्य सचिव होइन, सवै जनप्रतिनिधिको हो’ सभाका सदस्यहरूले यसरी ध्यानाकर्षण गराउँदा भण्डारीको जवाफ थियो ‘हो नि ।’

‘सदस्य सचिवले पुलको रोल खेल्नुपर्यो, अध्यक्षलाई पनि भन्नुपर्यो, उपाध्यक्षलाई भन्नु पर्यो, सदस्यहरूलाई भन्नु पर्यो, उपस्थिति हुँदाहुँदै गणपुरक संख्या पुगेन भनेर भन्न मिल्छ ?’ अर्को प्रश्नमा उनी मौन बसे । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आफ्नो कुनै दोष नभएको प्रष्टीकरण दिए ।

‘त्यो त म के भन्नु तपाईँलाई ? मैले आदेश अनुसार चिठी काटेको छु’ उपाध्यक्षसँग समन्वय गर्नुभयो ? भन्ने अर्को प्रश्नमा उनले भनेका थिए ।

जनप्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष निरंकुश बन्दै जथाभावी निर्णय गर्ने कार्यमा प्रमुख प्रशासकीय अधिकृतको उक्साहट रहेको आरोप लगाएका छन् । 

उनीहरूले प्रमुख प्रशासकीय अधिकृतमा भण्डारीले कार्यपालिका बैठकमा पनि पोजेटिभ रोल नखेलेको र सभालाई विथोल्ने कुरामा पनि हात रहेको गम्भीर प्रश्न उठाएका हुन् ।

अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत भण्डारीकै कानुन विपरितको सुझावका आधारमा कार्यपालिकाबाट स्वीकृत नै नभएको गाउँपालिकाको अर्थ विधेयक र विनियोजन विधेयक ल्याउन खोजेको, बैठकबाट पासै नगरी पालिकाको नीति कार्यक्रम र बजेट ल्याउन खोजेको अन्य जनप्रतिनिधिले  आरोप लगाए ।

‘सभाका सवै सदस्यहरू उपस्थित भएको बेलामा गणपुरक संख्या पुगेन भनेर चिटिङ गर्न मिल्छ त, तपाँई कानुनको अपहेलना गरेर अवैधानिक तरिकाले गाउँसभा सञ्चालन गर्न खोज्नुहुन्छ ?’ जनप्रतिनिधिको यस्तो प्रश्नपछि प्रमुख प्रकासकीय भण्डारी ‘लु अब अध्यक्षज्यूकोमा जाउँ’ भन्दै कार्यकक्षबाट निस्किएका थिए ।

शुक्रबार बसेको गाउँसभा बैठकमा आफूलाई प्रश्न गर्ने वडा नम्बर ५ र ७ का वडाध्यक्षहरूलाई अध्यक्ष माझीले बैठकबाट अनुशासन उल्लंघन गरेको मनखुसी आरोप लगाएर निस्काशन गर्ने आदेश दिएका थिए । सोही आदेशका कारण ग्रामथानको गाउँ सभा झनै विथोलिएको वडाध्यक्ष वीरेन्द्र चौधरीले बताए । 

‘हामीले नीति नियमको कुरा उठाउन नपाउने ? मैले त जनताको हक अधिकारको कुरा गरेको थिएँ, तर मलाई निस्कासन गरियो’ उनले भने, ‘तपाईँ सवैको हो भने गाउँपालिकाभित्र पुलको रोल खेल्नुपर्छ ।’

शुक्रबार बसेको गाउँसभा बैठकमा आफ्नो गैरकानुनी कदमको विरोध भएपछि पालिका अध्यक्ष माझी आफैं गाउँसभाका सदस्यहरू माथि औंला ठड्याउँदै अमर्यादित रूपमा प्रस्तुत भएका थिए । उनले आफ्नो हर्कत लुकाउन वडाध्यक्षहरूमाथि कारवाहीको डण्डा चलाएका थिए ।

अध्यक्ष माझी निर्वाचित भएलगत्तै अनेकौं विवादमा मुछिइसकेका छन् । उनले गैरकानुनी रूपमा गरेका निर्णयलाई अदालतमार्फत जनप्रतिनिधिहरूले रोक्दै आएका छन् । 

माझीले उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिनेदेखि गणपुरक संख्या नपुर्‍याइ कार्यपालिका बैठकबाट निर्णय गर्ने जस्ता कायम गरिसकेका छन् ।

View : 934

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved