सुनसरी । सशस्त्र प्रहरी बलले राजस्व चुहावट नियन्त्रणको लागि भन्दै सीमा नाकामा खटाइएका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूले काम सुरु गरेका छन् ।
जेनजी आन्दोलनपछि सीमा नाकाबाट तस्करी बढ्न थालेको रिर्पोटपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भारतीय सीमा नाकामा एसएसपीहरुमा दिग्विजय सुवेदी, माधवप्रसाद पौडेल, रविनराज कर्णजीत र गंगाराम श्रेष्ठलाई खटाएको थियो ।
राजस्व संकलनमा अभिवृद्धि गर्न, सीमा सुरक्षा, सीमा अपराध, राजस्व चुहावट नियन्त्रण, अवैध चोरी निकासीलगायत अन्य गतिविधिको स्थलगत अनुगमनसहित सीमा अनुगमन, तोकिएका प्रस्तावित सीमा सुरक्षा गुल्महरूको काम कारबाहीको केन्द्रीय अनुगमनका लागि उनीहरुलाई गत बुधबार खटाइने निर्णय भएको थियो ।
सुवेदीलाई झापाको काँकडभिट्टा र मोरङको रानीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ ।
पौडेललाई नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र कर्णजीतलाई रुपन्देहीको डण्डा, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाहस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ ।
श्रेष्ठलाई कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ ।
जिम्मेवारी तोकिएका कार्यालयहरू आफै उपस्थित भइ सम्बन्धित बाहिनी मुख्यालयहरूसँग आवश्यक समन्वय गरी काम सुरु गरिएको एसएसपी सुवेदीले जानकारी जानकारी दिए ।
सीमा इलाकाको विस्तृत अध्ययन गरी सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई दैनिक रूपमा रिपोर्टिङ र साप्ताहिक रूपमा प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी अनुरुप दिउँसो र राति पनि नाका अनुगमन सुरु गरिएको उनले बताए ।
आइतबार दिउँसो सुनसरीको भण्टाबारी र श्रीपुर नाका अनुगमन गरेको र राति १२ बजेसम्म विराटनगर रानी नाका अनुगमन गरेको उनले बताए ।
सोमबार मोरङका १३ वटै बीओपी प्रमुखलाई भेला गराई चोरी तस्करी नियन्त्रणमा कडाईको साथ काम गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
सोमबार नै मोरङ उद्योग व्यापार संघका पदाधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी र भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँग द्विपक्षीय भेट गरी चोरी तस्करी नियन्त्रणमा समन्वय गर्नेबारे छलफल भएको सुवेदीको भनाइ छ ।
View : 280
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved