Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीमा गोली चल्यो, दुईजनाको मृत्यु

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । जेनजी प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालयमै आगजनी गरेपछि प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले उपमहानगरपालिका नजिककै रहेको इलाका प्रहरी कार्यालय समेत ढुंगामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको बताए ।

मृतकहरुको पहिचान भने खुलेको छैन । गोली लागेर घाइते भएकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चिकित्सकले उपचारका लागि पुर्याइएका मध्ये दुईजनालाई मृत घोषित गरेका छन् ।

प्रदर्शन उग्र बन्दा प्रदर्शनकारीले उपमहानगरपालिकामा आगजनी गरेका छन् । उपमहानगरकै दमकलले आगो निभाउने प्रयास गरिरहेको जनाइएको छ ।

प्रदर्शनकारीले ढुंगाले लागेर सशस्त्र प्रहरीका एकजना सहायक हवल्दार समेत घाइते भएका छन् ।

प्रदर्शनका क्रममा घाइते भएका चारजनाको मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । 

घाइते हुनेहरूमा सुनसरीको रामधुनीका १७ वर्षीय आशिष चौधरी, बुढीगंगा–७ का सन्तनु ढकाल, इटहरी–४ का १६ वर्षीय अनमोल पन्त र इटहरी–१० की १६ वर्षीया सम्झना विक घाइते भएका छन् ।

घाइते मध्ये ढकालको टाउकोमा चोट लागेकोले शल्यक्रिया भइरहेको जनाइएको छ ।

प्रदर्शन हिंसात्मक हुने आशंकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिसकेको छ । प्रदर्शनकारीले पूर्वपश्चिम रागमार्गमा टायर बालेर प्रदर्शन चर्काएका छन् । 

View : 443

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved