Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चोरिएको मोटरसाइकल प्रहरीले भारतबाट ल्यायो

उद्‌घोष सम्वाददाता
१४ फागुन २०८०, सोमवार

विराटनगर । उद्घोष दैनिकको कार्यालयबाट चोरी भएको मोटरसाइकल नेपाल प्रहरीले खोजी गरेर भारतबाट ल्याएको छ । मोरङ प्रहरीले आइतबार मोटरसाइकल उद्घोष दैनिकलाई हस्तान्तरण गरेको छ ।

गत माघ २९ गते बेलुका विराटनगर–७ स्थित पत्रिकाको कार्यालयबाट दुई युवाले रातो रङको को २१ प ७६८६ नम्बरको स्प्लेण्डर मोटरसाइकल चोरी गरेका थिए ।

कार्यालयमा रहेको सीसीटीभी फुटेजमा दुई युवाले सो मोटरसाइकल चोरी गरी सातघुम्तीतर्फ लगेको देखिएको थियो ।

पत्रकार विजय खतिवडाको नाममा रहेको सो मोटरसाइकल प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले हस्तान्तरण गर्दै चोरी गर्नेलाई छिट्टै पक्राउ गरी कारवाही गर्ने बताएका छन् ।

मोटरसाइकल चोरी भएपछि मोरङ प्रहरीले शंकास्पद चोर र चोरीका मोटरसाइकल खरिद गर्ने भारतीयहरुलाई चेतावनी पठाएको थियो ।

फागुन २ गते नै सो मोटरसाइकल भारतीय नागरिकले जोगवनी थानामा बुझाएका थिए । मोटरसाइकल माग गर्दा भारतीय प्रहरीले बिभिन्न बहाना गर्दै दिन अस्वीकार गर्दै आएको थियो । प्रहरीले जोगवनीका प्रहरीलाई केही रकम दिएर मोटरसाइकल ल्याएको स्रोतको भनाइ छ ।

भारतीय प्रहरीले भारतकै अदालतको आदेश लिएर आए मात्रै मोटरसाइकल दिने बताउँदै आएको थियो । वरिष्ठ प्रहरी नायव निरीक्षक राजेन्द्र कटुवाल र सहायक निरीक्षक रुपेश सिंहको पहलमा भारतीय थानाबाट मोटरसाइकल फागुन ११ गते मात्रै छुटाइएको थियो । चोरले भारतीयलाई मोटरसाइकल बुझाउने बित्तिकै लुकिङ ग्लास निकालेर अगाडिको नम्बर प्लेट हटाइएको थियो ।

पछाडिको नम्बर प्लेट पनि पल्टाएर मार्कर पेनले भारतीय नम्बरनै लेखिएको अवस्थामा प्रहरीलाई बुझाइएको थियो । मार्कर पेनले अगाडिको भाइजरमा अंग्रेजीमा ‘मिया भाइ’ र पछाडि प्लेटमा भनें ‘सिंह’ लेखिएको थियो ।

नेपाल प्रहरीको चेतावनीपछि भारतीयले नेपाली प्रहरीलाई बुझाइ दिने सर्तमा मोटरसाइकल बुझाए पनि त्यहाँको प्रहरीले दिन अस्वीकार गरेपछि नेपाल प्रहरीले रकम खर्च गरेर मोटरसाइकल झिकाएको बताइएको छ ।

View : 2972

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved