Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

महानगर सभापति चापागाईंले भने– ‘केदार कार्की भिडको पछाडि लागे’

उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

विराटनगर । महामन्त्री गगन थापाविरुद्ध चर्को असन्तुष्टि पोखिरहने कांग्रेस मोरङका युवा नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले डा. शेखर कोइराला नेतृत्वको समूह छाडेर विशेष महाधिवेशन पक्षमा खुलेपछि कांग्रेसवृत्तमा उनको ‘मुभ’ को हिसाबकिताबको खोजी सुरु भएको छ ।

महामन्त्री थापालाई ‘अपरिपक्व’ र ‘स्टन्टबाज’ को संज्ञा दिंदै पटक पटक आलोचना गर्दै आएका पूर्वमुख्यमन्त्री कार्की आफैं गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा ‘स्टन्ड’ गरेको उनका निकटहरूले टिप्पणी गरेका छन् ।

कार्कीले आइतबार बिहान भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनमा डा. शेखरकै प्रतिनिधिको रुपमा आफूलाई उभ्याएपछि शेखर पक्षले कार्की ‘स्टन्ट’ मा लागेको टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले कांग्रेसलाई सहमतिका साथ अघि बढाउने विषयमा विगतदेखि डा. शेखरकै अभियानमा सँगै रहेका कार्की अचानक विशेष महाधिवेशनको पक्षमा देखिनुले आश्यर्चचकित भएको बताए । कार्कीले आफ्नो लोकप्रियता देखाउन र व्यक्तिगत फाइदाका लागि यस्तो कार्य गरेको चापागाईंलेको भनाइ छ ।

‘हामी यो मुभमेन्टमा डाक्टर सा’बसँगै ‘राइट ह्याण्ड’मा रहेका मान्छे थियौं, डाक्टर साबले नै मुख्यमन्त्री बनाएको व्यक्ति त्यहाँ जानु ठूलो ‘मिस्टेक’ हो, उहाँ भिडको पछाडि लाग्नुभयो’ सभापति चापागाईंले भने, ‘हाम्रो टिमको लिड गरिरहेको मान्छेले टिममा सल्लाह पनि गर्नु भएन, कांग्रेसमा परिवर्तन हुनुपर्छ भन्ने त हाम्रो पनि माग हो, तर उहाँ बढी एक्स्पोज हुनुभयो, आफ्नो बचाउका लागि शेखर कोइरालाको नाम लिएर चलाखी गर्नुभयो ।’

चापागाईंले अहिले भिडको राजनीति गर्ने परम्परा बढेकोले कार्की पनि त्यही लाइनमा फँसेको आरोप लगाए । उनले आफूहरूसँग नियमित संवादमा रहेका कार्कीले यस्तो निर्णय गरेको समाचारमार्फत नै जानकारी पाएको बताए ।

अहिले पार्टीलाई मिलाएर लैजाने कुरामा समेत सहमत भइरहेको बेलामा कार्कीले आफूलाई बढी एक्सपोज गर्दै भिडको पछि लागेको चापागाईंले टिप्पणी गरे ।

काठमाडौंमै रहेका चापागाईंले महामन्त्रीद्वय गगन–विश्व समूहलाई समेत पार्टी एकताको पक्षमा ल्याउन डा.शेखर कोइरालाले महत्वपूर्ण भूमिका खेलिरहेको दाबी गरे । उनले विराटनगरसहित ६ वटा महानगर समितिले पार्टीलाई अनिर्णयको बन्दी हुनबाट जोगाउने पक्षमा सक्रिय रहेको बताए । 

‘देशभरिका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य र जिम्मेवार नेता काठमाडौंमा केन्द्रित छन्, हामीले पार्टी नफुटोस्, सहमति र सहकार्य गरेर कसरी अघि बढ्न सकिन्छ भनेर लागिरहेका छौं’ उनले भने, ‘यो प्रयास सफल भएरै छाड्छ, त्यसको नेतृत्व डाक्टर सा’बले गरिरहनु भएको छ ।’

View : 1147

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved