Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

महानगरद्वारा आगलागी नियन्त्रणको पूर्व तयारी

बजार र दक्षिणी क्षेत्रलाई लक्षित गर्दै सनसारीमाईस्थानमा गाडियो डिप बोरिङ

सनसारीमाईस्थानको डिप बोरिङबाट पाँच हजार लिटर क्षमताको दमकलमा पानी भर्न २० मिनेट लाग्ने जनाइएको छ । पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।
उद्‌घोष सम्वाददाता
४ फागुन २०८०, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्व तयारी स्वरूप डिप बोरिङ गाड्न सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै महानगरभित्र आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यान दिएर महानगरले बोरिङ गाडेको हो । 

शुक्रवार मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले डिप बोरिङ जडानको काम सुरु गरेको जनाइएको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले जानकारी दिए । 

उनले बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न पुष्पलाल चोकस्थित वारुणयन्त्रको कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेकोले बजार क्षेत्रमा डिप बोरिङ गाडिएको बताए ।

‘पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरी पानी भर्न पुष्पलाल चोक नै पुग्नुपर्थ्यो’ मेयर कोइरालाले भने, ‘अब बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा पानी सकिने बित्तिकै सनसारीमाईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ, जसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।’ 

महानगरपालिकाले चालु आर्थिक वर्षमै अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गर्ने मेयर कोइरालाले बताए । उनले विराटनगर–१४ मा पनि डिप बोरिङ गाड्ने योजना रहेको बताए । हाल पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको छ ।

सनसारीमाईस्थानको डिप बोरिङबाट पाँच हजार लिटर क्षमताको दमकलमा पानी भर्न २० मिनेट लाग्ने जनाइएको छ । पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए । 

बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गर्नु उपयुक्त देखिएकोले महानगरपालिकाले बोरिङ गाड्न सुरु गरेको उनले जानकारी दिए । 

 

View : 268

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved