Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

३९औँ गणगौर पूजा महोत्सवमा पाँच महिला सम्मानित (फोटो)

उद्‌घोष संवाददाता
४ चैत २०८२, बुधवार

Advertisement

विराटनगर । ३९औँ गणगौर पूजा महोत्सवका अवसरमा मारवाडी समुदायका पाँच जना महिला सम्मानित भएका छन् । नेपाल मारवाडी गणगौर पूजा समिति, विराटनगरले मारवाडी समुदायबाट समाजका लागि योगदान गर्न सफल महिलाहरूलाई बुधबार सम्मानित गरेको हो ।

सम्मानित हुनेहरूमा हाल विराट नर्सिङ होममा कार्यरत छाला रोग विशेषज्ञ डा. नेहा तापडिया, बालयोगीका रूपमा चिनिएकी ९ वर्षीया योगगुरु प्राप्ति घिमिरे, विराट नर्सिङ होममै क्लिनिकल साइकोलोजिस्टका रूपमा कार्यरत रानी सारडा राठी, प्याकेजिङ डिजाइनिङ तथा डिजिटल मार्केटिङमा संलग्न प्रीयंका अग्रवाल र नेपालमै अध्ययन गरी हाल नेपाल राष्ट्र बैंक, विराटनगरमा सहायक निर्देशकका रूपमा कार्यरत ऋषिका कोठारी रहेका छन् ।

पूजा महोत्सव समारोहका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् । मन्त्री पराजुलीले मारवाडी महिलाहरूले हरेक वर्ष मनाउँदै आएको गणगौर पूजाको महत्व सबैतिर बुझाउन आवश्यक रहेको बताए । उनले देशव्यापी रूपमा गणगौर पूजाको आयोजना गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

नेपाल मारवाडी गणगौर पूजा समितिका संस्थापक अध्यक्ष मुलचन्द तापडियाले मारवाडी समुदायका महिलाहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको यो पर्व हरेक वर्ष भव्यताका साथ आयोजना गरिँदै आएको बताए । उनले आउँदो शनिबार हनुमान मन्दिरमा भव्य मेला आयोजना गर्दै पूजा सम्पन्न हुने जानकारी दिए ।

कार्यक्रम संयोजक अमिता पेडिवालले मारवाडी समुदायबाट महिलाहरू साहसका साथ समाजमा अघि बढिरहेको बताइन् । उनले महिलालाई घरको पहिचान मात्रै नभई समाजको ताकत र प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

नेपाल मारवाडी गणगौर पूजा समितिकी अध्यक्ष ललिता जाजुको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष नन्दकिशोर राठी, पूर्वअध्यक्ष एवं समाजसेवी बेनीगोपाल मुन्दडा, गणगौर पूजा समिति धरानकी अध्यक्ष अनिता अटललगायत मारवाडी समुदायबाट विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति रहेको थियो । पूजा समितिकी सहसंयोजक एवं कोषाध्यक्ष शीतल वायेतीले कार्यक्रममा उपस्थितहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

पूजा समारोहको उद्घाटनपछि मारवाडी महिलाहरूले गीत–संगीतसहित भगवान् शिव (ईसर) र माता पार्वती (गणगौरी) को पूजाआराधना गरेका थिए । गणगौर पूजामा विवाहित महिलाहरूले सुखद वैवाहिक जीवनको कामनासहित पति र आफ्ना सन्तानको दीर्घायुका लागि गणगौरी माता पार्वतीको पूजा गर्ने गर्दछन् । त्यस्तै, अविवाहित युवतीहरूले पनि योग्य वर प्राप्तिको कामना गर्दै पूजा गर्ने गरेका छन् ।

गणगौर पूजामा गणगौरी पार्वतीका लागि सोह्र शृंगार सामग्रीसहित अक्षता, टीका लगाउने र मिठाई अर्पण गर्ने गरिन्छ । महिलाहरूले गणगौर गीत गाउने गर्दछन् । पूजाको समापनमा गणगौरको प्रतिमालाई नजिकको खोला वा नदीमा लगेर विसर्जन गरिन्छ ।


View : 175

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved