Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जोगबनीमा नयाँ रेलः नेपालीलाई सुविधा

उद्‌घोष सम्वाददाता
११ चैत २०८०, आइतवार

जोगबनीमा आएको नयाँ रेलको फोटो । तस्वीरः उद्घोष

विराटनगर । सीमावर्ति भारतीय बजार जोगबनीबाट चल्ने नयाँ तीनवटा रेल थपिएपछि त्यसको प्रत्यक्ष फाइदा नेपालीले पनि पाएका छन् ।

जोगबनीबाट सिलिगुडी, दरभंगा र सहरसा रेल सञ्चालनमा आएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र नाता सम्बन्धका कारण भारत जाने नेपालीले सीमाबाट चल्ने रेलको उपभोग बढी गर्न पाएका छन् ।  ब्यवसायिक र घरायसी सामान खरिदका लागि विराटनगरबाट काँकडभिट्टा नाका हुँदै सिलिगुडी जाने गरिएकोमा रेलको यात्रा गरेर पनि नेपालीहरू त्यहाँसम्म जान थालेका छन् ।

भारतको रेल बिभागले हालै सञ्चालनमा ल्याएको नयाँ रूटको रेलसेवालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाटै उद्घाटन गरेका थिए ।

मोदी सरकारले विकसित भारत, विकसित बिहार मोदी सरकारको नारासहित विकासको योजना सञ्चालनमा ल्याएसँगै जोगबनीमा रेल थपिएको बताइएको छ । रेल उद्घाटनपछि भारत अररियाका सांसद प्रदीप सिंहले सीमावर्ति क्षेत्रका वासिन्दाले यात्रामा पाएको कठिनाई अब हटेको बताएका छन् ।

बिहारका बासिन्दाले सीमाञ्चलबाट मिथिलाञ्चल जोड्न सरकारसँग माग गर्दै आएका थिए । नयाँ रेल थपिएपछि जोगबनीको प्लेटफार्म बिस्तार गरेर सिंगारिएको छ ।

जोगबनीका स्थानीय बासिन्दा सुदीप भारतीका अनुसार स्टेशनमा पीट लाइन बिच्छ्याएर  रेल सफाइ र धुलाइका लागिपनि अलग्गै स्थान बनाइएको छ । यात्री आरामका लागि अर्को प्लेटफर्म पनि निर्माणको तयारी भएको छ । 

नयाँ रूटबाट जोगबनी हुंदै नेपाल प्रवेश गर्ने पर्यटकका कारण कोशी प्रदेशका पर्यटकीय गन्तब्यमा भारतीय पाहुना बढ्ने अनुमान गरिएको छ ।

शनिबार र आइतबार भारतीय पर्यटक कोशी प्रदेशका पर्यटकीय स्थलहरूमा नियमित आउने गरेका छन् । सीमावर्ति विराटनगर १५ का वडा अध्यक्ष प्रकाश साह भारतीयलाई जत्तिकै नेपालीलाई नयाँ रेलले सुविधा मिलेको बताउँछन् ।

ब्यवसायिक कामले भारत आवतजावत गर्ने नेपालीले मध्य रातमा गाडीको यात्रा गर्नु पर्ने अवस्था हटेको बताउँदै उनले पटना जान अब सिधै रेल चढ्न सकिने जानकारी दिए । ‘नयाँ रेल चलेको एक, डेढ हप्ता मात्रै भएको छ, सीमा क्षेत्रमा भारतीय पर्यटक बढेको देख्न थालिएको छ’ साहले भने ‘होटलहरूमा बस्ने र खाने मानिस बढेको देखिएको छ ।’

View : 310

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved