सुनसरी । इटहरीमा शुक्रबारदेखि सुरु भएको जुत्ता–चप्पल महोत्सव आगामी २२ गतेसम्म सञ्चालन गर्ने सहमति भएको छ । शनिबार रेडिमेड व्यवसायी संघ इटहरी र महोत्सव आयोजकबीच भएको सहमतिमा आगामी १० दिनसम्म सञ्चालन गर्ने सहमति जुटेको हो ।
इटहरी उद्योग वाणिज्य संघको पहलमा भएको छलफलमा ३५ दिनसम्म चल्ने तयारी भएको महोत्सव १० दिनसम्म मात्र सञ्चालन गर्ने सहमति भएको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए ।
शुक्रवार इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सवले स्थानीय व्यापारीको व्यापारमा असर पुग्ने भन्दै अवरोध गरेपछि उद्घाटन कार्यक्रम स्थगित भएको थियो । महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
महोत्सवमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध रहेको आयोजकको भनाइ छ ।
यसअघि बुटवल, जनकपुर, बिर्तामोड र काठमाडौंमा ४ पटक महोत्सव सञ्चालन गरिएको उनले जानकारी दिए । अन्त कतै पनि बिना अवरोध सञ्चालन गरिएको महोत्सव इटहरीमा भने स्थानीय व्यापारमा समस्या हुने भन्दै अवरोध गर्न खोज्नु संकुचित मानसिकताको उपज भएको आयोजक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानिराज घिमिरेले बताए ।
View : 249
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved