Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान

उद्घोष सम्वाददाता
१९ भदौ २०८१, बुधवार


गलकोट, १९ भदौ । अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।

अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुन् ।

उनी भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुगेका थिए । 

प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाएका नगरपालिकाले जनाएको छ ।

“बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उनको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भने, “बागलुङ जिल्लाको नाम चिनाउन उनको महत्वपूर्ण योगदान छ ।”

विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका छन् ।

उनका नाममा बुटवल उपहानगरपालिकाले ‘भुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ ।

सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताए ।

उनले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गरे ।

“नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भने । रासस

View : 77

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved