Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बैदेशिक रोजगारी लगाइदिने नाममा रकम लिएर फरार भएका पौडेल घर फर्किएको थाहा पाएर पीडितले गरे घेराउ

उद्‌घोष संवाददाता
१७ कार्तिक २०८२, सोमवार

वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोप लागेका प्रशन्न पौडेल घर आएको सूचना पाएपछि पुगेका पीडित र प्रहरीले उनको घर घेराबन्दीगरि खोजतलास गरेका थिए । तस्वीर : नवीन कर्ण/उद्घोष

विराटनगर । वैदेशिक रोजगारीको नाममा बेरोजगार युवाहरूबाट  लाखौं ठगी गरी फरार रहेको आरोप लगाउँदै विराटनगरका एक व्यक्तिको घर पीडित पक्षले घेराउ गरेका छन् । 

ठगी गर्ने ब्यक्ति घर फर्किएको सूचना पाएपछि प्रहरी र पीडितले ती ब्यक्तिको घरसमेत खानतलासी गरेका छन् ।

यूरेपेली मुलुकको लिथुवानिया वा लक्जम्बर्गमा छोरा मनिषलाई रोजगारी लगाईदिने भनेपछि मोरङ बुढीगंगा गाउँपालिका–२ का मधुकर कार्कीले विराटनगर–८ मधुमारा हाम्रोचोकका प्रसन्न पौडेललाई साढे ८ लाख नगद दिएका थिए ।

कार्कीको भनाइ अनुसार छोराको बैदेशिक रोजगारीका निम्ति तत्कालै नगद दिनुपर्ने अवस्था आएपछि उनले आफुले गरिखान खरीद गरेको ट्रक बेचेर पौडेललाई रकम दिएका थिए ।

यद्यपि कार्कीको सो सपना तुषारापात भएको छ । रकम बुझेर पौडेल सम्पर्क विहीन भएपछि कार्कीको अवस्था छांगाबाट खसेजस्तै भएको छ । 

वैदेशिक रोजगारीमा लगिदिने भन्दै पौडेलले कार्कीका छोरा मनिषका साथै सालो सुरेन्द्र खड्का र भाञ्जा सुमन बुढाथोकीबाट समेतगरी झण्डै २४ लाख रकम ठगी गरी बेपत्ता भएका हुन् ।

पौडेलले कार्की परिवार मात्र नभई विराटनगर–४ का जुलीकुमारी कर्णसँग १० लाख, बुढीगंगा–२ का दिवस ठाकुरसँग ८ लाख १० हजारसहित थप दुईदर्जन बेरोजगार यूवाहरूलाई समेत बैदेशिक रोजगारीको प्रलोभन दिएर रकम ठगी गरी फरार भएको पीडितहरूले जानकारी दिएका छन् । 

पौडेलले लक्जम्बर्गमा जागिर लगाईदिने भनेपछि आफूले पौडेललाई ७ लाख रूपैया“ नगद दिएको विराटनगर–४ का सागर गुरूङले बताए । 

पौडेलले बेरोजगार युवाहरूबाट लाखौं ठगी गरेको हुनसक्ने पीडितहरूले दाबी गरेका छन् । पौडेल घर फर्किएको सूचना पाएपछि पीडितहरूले आइतबार बिहान साढे ३ बजे रातिबाटै मधुमारास्थित उनको घर घेराउ गरेका थिए । 

पीडित एकदर्जन बढी यूवाहरूले पौडेलको घर चारैतिरबाट घेरा हाली प्रहरीलाई खबर गरेका थिए । सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रहरी टोलीले पौडेलको घरमा खानतलासी समेत गरेको थियो । तर उनी घरमा भेटिएनन् । 

पौडेलका आफन्तले भने उनी सम्पर्कमा नरहेको दाबी गरेका छन् । पीडितहरूले २०८२ भदौ २ गते र त्यसपछिका विभिन्न मितिमा पौडेलबाट ठगिएको बिषयमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेका थिए । 

पौडेलले डेढ दर्जन यूवाहरूलाई जागिर लगाईदिन्छु भनेर जनही ८ देखि १० लाखका  दरले ठगि गरेको उजुरी आएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

उनले घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायमा लेखी पठाइएको र पौडेलको खोजी भैरहेको बताए ।

View : 300

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved