विराटनगर । विराटनगरबाट प्रकाशित हुँदै आएको उद्घोष दैनिक छापा माध्यमको २० वर्षमा प्रवेश गरेको छ । आइतबार २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले विषम राजनीतिक परिस्थिति र जटिल आर्थिक अवस्थाको चुनौतीलाई सामना गर्दै शंखघोष गर्न सफल भएको बताएका छन् ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि राजनीतिक विश्लेषक प्रा कृष्ण पोखरेलले उद्घोष दैनिकले अनेकौं चुनौतीपूर्ण अवस्थामा पनि आफ्नो आवाजको शंखघोष गर्न सफल भएको बताए । उनले मिडियाहरुमा सञ्चालकहरु नै अरुको दवाबमा पर्ने र सम्पादकीय स्वतन्त्रता गुम्ने डर धेरै हुने भए पनि उद्घोषले त्यसका विरुद्ध एकजुट भएर निरन्तर कलम चलाएको बताए ।
राज्य र निजी क्षेत्रबाट नागरिकहरु पीडित हुने भएकोले मिडियाहरुले पनि त्यस्तो बेलामा सम्पादकीय स्वतन्त्रता गुमाउन सक्ने सम्भावना रहने बताए । तर त्यस्तो बेलामा उद्घोष दैनिकले नागरिक समाजको अगुवा बनेर आवाज उठाइरहेको बताए ।
‘उद्घोषले अनेकौं चुनौतीलाई सामना गर्दा शंखघोष गर्न सफल भएको छ,’ प्रा पोखरेलले भने, ‘मिडियाहरुले हरेक समस्यालाई सकारात्मक रुपमा सामना गर्नुपर्दछ, पत्रकारितामा आएको रुपान्तरणलाई आत्मसात गर्नुपर्छ, उद्घोष दैनिक अब त्यतातिर अघि बढोस् ।’
उनले पछिल्लो पुस्ताले आफुलाई चाहिएको जानकारी हत्केलामा खोज्ने भएकोले अब डिजिटल माध्यममा उद्घोष जानुपर्ने बताए ।
‘सबै अनलाइनमा गइसके, सिटिजनहरु नेटिजम भइसके, सडकभन्दा नेटमा खोज्ने भइसके,’ उनले भने, ‘विराटनगरबाट धेरै पत्रिकाहरु बन्द भएर गइसकेका छन्, तर उद्घोषले चुनौतीका बाबजुद पनि निरन्तरता दिन सफल भएको छ, इतिहास भन्ने भन्दा वर्तमानमा निरन्तरता जरुरी छ ।’
कार्यक्रमका विशेष अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले २० वर्षसम्मको यात्रामा आइपुग्दा उद्घोष दैनिक तुलनात्मक रुपमा सन्तुलित रुपमा अघि बढेको बताए । सन्तुलित हुने प्रयासमा अगाडि देखिनु असाध्यै सकारात्मक कुरा भएको बताए । उनले समाजलाई सकारात्मक रुपमा अघि बढाउन उद्घोष दैनिकको ठूलो भूमिका रहने सुझाव दिए ।
‘कलमको रेन्ज सिपाहीको हतियार जस्तै हो, हतियार चलाउँदा जसरी होसियारी गर्नुपर्छ त्यसैगरी मिडियाको हतियार चलाउँदा होसियारपूर्वक चलाउनु पर्दछ,’ उनले भने, ‘व्यावसायिक धर्मलाई उद्घोषले पालना गर्दै आएको छ, आगामी दिनमा अझ यसतर्फ लाग्नुपर्छ ।’
समाजको अंग भएकोले पत्रकारिता जगतमा पनि कुनै विचार हुने भन्दै पेसामा भने त्यो कुरा झल्किन नहुने सुझाव दिए । अनिमात्रै मिडियाले गर्ने खबरदारीको अर्थ हुने उनले बताए ।
‘सवै क्षेत्रले आफूलाई हेक्का राखेर अघि बढौं,’ उनले थपे,‘उद्घोष स्थापित दैनिक पत्रिका हो, विराटनगरकै गौरव हो, गौरवशाली इतिहासलाई अबका दिन कायम राख्न झन प्रेरणा मिलोस् ।’
विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घोष दैनिक २० बर्षको यात्रासम्म नडमगाइकन स्थापित भएको बताइन् । उनले समाचारको विश्वासनीयतालाई अझ बढाउँदै लैजान सुझाव दिइन् ।
अपुष्ट समाचारहरुले सबैलाई दुखित बनाउने भन्दै कसैको दबाबमा नआइकन एउटै रफ्तारमा अघि बढ्न सफल भएकाले आगामी दिनमा सबैको साथ सहयोग लिएर अघि बढ्नुपर्ने बताइन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले समाजमा नकारात्मक सोच बढिरहेको बेला मिडियाले पनि हरेक कुरालाई नकारात्मक दृष्टिकोणबाट माक्रै हेर्ने क्रम बढेको गुनासो गरे । उनले सञ्चार माध्यमहरुको ध्यान सकारात्मक दिशातिर अघि बढ्नुपर्ने सुझाव दिए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले राजनीतिक दलहरुलाई आइपरेको संकटको सामना गर्न पत्रकारिता क्षेत्रको माध्यमबाट महत्त्वपूर्ण योगदान मिल्ने गरेको बताए । उनले जनतालाई निरंकुशता र प्रतिगमनको विरुद्धमा जागरुक गराउन पत्रकारिता क्षेत्रकै महत्त्वपूर्ण योगदान रहेको बताए । रेग्मीले परिवर्तनको उपलब्धिहरुलाई खेर जान नदिन उद्घोषले फेरि भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । साथै राजनीतिक दलहरु सुध्रिनु पर्ने र त्यसलाई मिडियाले नै देखाइदिनु पर्ने बताए ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले उद्घोष दैनिक धेरै नै राम्रो पत्रिका भएको बताए । समाजमा उद्घोषले राम्रो बाटो देखाएको दाबी गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कुनै पनि कुरालाई धेरै उजागर गर्दा राज्यले नै धान्न नसक्ने अवस्था आउने बताए । तर मिडियाले राज्यले धान्दैन भनेर लेख्नै छाड्न भने नहुने बताए । उनले स्थापनाको २० वर्षमा प्रवेश गरेको भन्दै आगामी दिनमा निरन्तरताको शुभकामना दिए । प्रजिअ भट्टराईले नागरिकहरुको सुझावहरुलाई पनि सँगै लिएर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, सामाजिक व्यक्तित्व सुरेश शर्मा लगायतले उद्घोष दैनिकको सफलताको शुभकामना दिएका थिए ।
सौगात प्रकाशन प्रालिका अध्यक्ष एवं उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कम्पनीका प्रबन्ध निर्देशक बन्धु पोखरेलले गरेका थिए । कार्यक्रममा विराटनगरका नागरिक समाज, गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायी, शिक्षा र स्वास्थ्य क्षेक्रका अगुवा व्यत्तित्वहरुको उपस्थिति थियो ।
View : 177
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved