Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले कोशीले गर्यो द्वारिकलालसहित पाँच जनालाई कारवाही, प्रदेश कमिटीमा तीन मनोनित

उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले प्रवेश गरेका तीन जनालाई प्रदेश कमिटीको सदस्यमा मनोनित गरेको छ भने पाँचजना प्रदेश कमिटी सदस्यलाई कारवाही गरेको छ ।

गत सोमबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले नेकपा एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका झापाका मणि भण्डारी, संखुवासभाका मानसिंह पोखरेल र संघीय समाजवादीका एमालेमा आएका धनकुटाका धर्मराज राईलाई प्रदेश कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका कोशी प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई पार्टी नीति र नेतृत्वप्रति अनास्था फैलाउने अराजक गतिविधि गरेको भन्दै कमिटीबाट मुक्त गरी ६ महिनाका लागि पार्टी सदस्यसमेत निलम्बन गर्ने निर्णय गरेको हो ।

चौधरीले सामाजिक सञ्जाल र बिभिन्न मिडियामा पार्टीप्रति गलत प्रचारबाजी गरेको र त्यसो नगर्न सम्झाउँदा समेत नटेरेका कारण कारवाही गरिएको अध्यक्ष घनश्याम खतिवडाले बताए ।

त्यस्तै सुनसरीकै प्रदेश कमिटी सदस्यहरू बद्रीविशाल पोखरेल र काशीनाथ दंगालले समेत सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

प्रदेश कमिटीका सल्लाहकार झापाका मनोरथ तिवारीले जेनजी आन्दोलनको नाममा सहभागी भई निरन्तर पार्टी विरोधी गतिविधि गरेको र झापाकै ध्रुव सिवाकोटी नैतिक पतन हुने अभियोगमा अदालतबाट दोषी ठहर भएर जेल सजायसमेत भएका कारण दुवैलाई पदमुक्त गर्ने बैठकले निर्णय गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

पुनर्निमाण र राहतका लागि भन्दै तोकियो लेबी

एमालेले जेनजी आन्दोलनका क्रममा विराटनगरको पाञ्चालीस्थित कोशी प्रदेश कमिटीको समेत कार्यालय रहेको भवनमा क्षति पुगेको भन्दै त्यसको मर्मत र गत असोज १८ र १९ गते आएको अविरल वर्षापछि विभिन्न जिल्लाहरूमा भएको धनजनको क्षतिबाट प्रभावित परिवारहरूलाई सहयोग गर्न भन्दै पार्टी नेता र जनप्रतिनिधि केन्द्रित लेबी (सहयोग रकम) तोकेको छ ।

प्रदेश कमिटीको बैठकले प्रदेशसभा सदस्य, पालिका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलाई पाँच हजार रुपैयाँ लेबी तोकेको जनाइएको छ । 

पुनर्निर्माण र राहतका लागि भन्दै एमालेले भूमि आयोगका अध्यक्षलाई २० हजार, सदस्यलाई १५ हजार, विभिन्न राजनीतिक नियुक्ति पाएका कार्यकर्तालाई १० हजार रुपैयाँ सहयोग रकम तोकेको हो ।

त्यसैगरी पालिका उपप्रमुख र जिसस उपप्रमुखलाई चार हजार र प्रदेश कमिटीका सवै सदस्यलाई न्यूनतम् तीन हजार रुपैयाँ सहयोग शुल्क तोकेको एक नेताले जानकारी दिए । उनले पार्टीका अन्य दुई दर्जन नेताहरूलाई भने अलग्गै जनही २० हजार रुपैयाँ सहयोग रकम तोकेको बताए ।

एमालेले कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीको क्षतिग्रस्त कार्यालय पुनर्निर्माणका लागि मोरङ इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश कमिटीका कार्यालय सचिव नरेन्द्र बराल र मोरङ जिल्ला कमिटीका सचिव सोमराज थापाको नाममा संयुक्त खाता सञ्चालन गर्ने तयारी अघि बढाएको हो ।

View : 376

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved