ढोरपाटन, २० भदौ । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउखेती सुरु गरिएको छ ।
परम्परागत रुपमा खेती गरिँदै आएको स्याउले राम्रो उत्पादन नदिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ बागलुङको सहयोगमा गत वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरि खेती गर्न थालिएको हो ।
ढोरपाटनमा वर्षौ अगाडिदेखि नै स्याउखेती गर्दै आए पनि अपेक्षित रुपमा उत्पादन हुन सकेको थिएन ।
आर्थिक वर्ष २०८०/८१ मा नवी गाउँको दुई सय ८० रोपनी जमिन चक्लाबन्दी गरि स्याउ लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ बागलुङका प्रमुख नारायण पौडेलले जानकारी दिए ।
मुस्ताङको मार्फादेखि चार हजार दुई सय बिरुवा लिएर लगाएको उनको भनाइ छ ।
ढोरपाटनमा राम्रो स्याउ उत्पादन हुने हावा, पानी र माटो भएको हुँदा लगानी गरेको प्रमुख पौडेल बताउछन् ।
लगाइएको स्याउका बिरुवाले चार वर्षमा उत्पादन दिने भएपछि किसान पनि खुसी भएको उनको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १७ लाख अनुदान र किसानको नौ लाख लगानीमा स्याउखेती गरिएको हो ।
यस गाउँमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाएको पौडेलले जानकारी दिए ।
यस वर्ष पनि उक्त स्याउका बिरुवा राम्रोसँग हुर्काउनका लागि किसानलाई तालिमसहितका कार्यक्रम सञ्चालन गरिने उनी बताउछन् ।
नवी गाउँको तल्लो बिजउले कृषक समूह र नवी प्रगतिशील कृषक समूहमार्फत किसानलाई जोडेर स्याउखेती थालिएको पौडलको भनाइ छ ।
उनले भने, “नवी गाउँमा पहिलेदेखि रैथाने जातका स्याउखेती गर्दै आएको रैछ, किसानहरुले राम्रो स्याहार सुसार र काँटछाँट नगर्दा उत्पादन राम्रो हुन सकेको थिएन, गत आर्थिक वर्षमा हामीहरुले किसानलाई नयाँ जातका स्याउका बिरुवा लिएर उत्पादन गर्न लगाएका छौँ, आवश्यक अनुदान र प्राविधिक सहयोग पनि गरिरहेका छौँ, यो स्याउले अबको दुई/तीन वर्षमै उत्पादन दिन्छ, किसानले बिरुवा हुर्काउन सके धेरै लाभ लिनसक्ने छन् ।”
नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरुले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आएको जनाउँदै राम्रो लाभ भने लिन नसकेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो लगानी गरेर गाउँमा स्याउखेती गर्न प्रेरित गर्दा किसान उत्साहित भएको उनको भनाइ छ ।
ढोरपाटन आलु र स्याउका लागि प्रख्यात मानिँदै आए पनि किसानहरुमा प्राविधिक ज्ञान नहुँदा उत्पादन बढाउन नसकेको सुनार बताउछन् ।
“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यति ठूलो सहयोग पाउँदा हामीहरु धेरै खुसी भएका छौँ, पहिले बारीहरु खाली हुन्थे, अव्यवस्थित थिए, अहिले चक्लाबन्दी गरेर स्याउ लगाएपछि बाँझो जग्गा पनि प्रयोगमा आएको छ”, सुनारले भने, “स्याउका बिरुवा पनि राम्रोसँग बढ्दै छन्, केही पानी र मलको कमी हुँदा मरे, तर धेरैजसो राम्रो तरिकाले हुर्किँदै गएका छन्, यि बिरुवाहरुले फल दिन थालेपछि धेरै किसानको आयआजर्नमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”
स्थानीय झकेन्द्र सुनारले अहिले गाउँका धेरै किसानले व्यावसायिक रुपमा स्याउखेती तर्फ चासो दिएको बताए ।
गाउँमा रहेका कृषि समूहमार्फत धेरै स्थानीयलाई जोडेर स्याउखेतीमा लागेको उनको भनाइ छ ।
अहिले पनि नवी गाउँका बारीमा थुप्रै स्याउका बोट रहे पनि ती बोटमा निकै साना आकारमा फल फल्ने र मीठोसमेत नहुने सुनार बताउछन् । रासस
View : 373
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved