Biratnagar, Morang, Nepal
१५ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

उद्‌घोष सम्वाददाता
२ कार्तिक २०८१, शुक्रवार

Advertisement

दोहा, २ कात्तिक ।  प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उहाँको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो ।

“हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ”, कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भने ।

सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बनेका थिए ।

हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो । वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणका क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताए ।

“गाजामा हाम्रा मानिसहरू विरुद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्”, उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भने ।

हमासले सिनवारको हत्याबाट शक्ति लिने भन्दै हय्याले ‘हमासले उहाँलाई उहाँभन्दा अघिका आन्दोलनका नेताहरू र प्रतीकहरू’ मध्ये राखेको बताए ।

हमास प्रमुखको मृत्यु भएको इजरायलीको घोषणा

यसैबीच, प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको कुरा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति नै पुष्टि गरेका थिए ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिए ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु ‘न्यायिक’ भएको बताइन् । 

“हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ,” अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमाक्र्याटिक उम्मेदवार ह्यारिसले भनिन्, “परिणामस्वरुप विश्वले सुरक्षित महशुस गर्न सक्नेछ र पीडितका परिवारले राहत महसुस गर्नेछन्।”

इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।

आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।”

मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ ।

इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।

यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो ।

तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ ।

हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ ।

इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।

सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।”

सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ। (रासस/एएफपी)

View : 205

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved