Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सकियो इस्टर्न ट्राभल मार्ट

उद्घोष सम्वाददाता
२९ जेठ २०८१, मङ्गलवार

सुनसरी । भारतीय पर्यटक आकर्षित गर्न सुरु भएको चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । सुनसरीको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण र प्रचारप्रसार गर्दै झापाको मेचीनगरमा पुगेर आइतबार राति सम्पन्न भएको हो ।

मेचीनगरको होटल मेची क्राउनमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटनकर्मीले कोशी प्रदेशका पर्यटकीय क्षेत्रको भारतमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय शहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रचार र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको मार्टको यात्रामा १३० जना भन्दा बढीको सहभागिता  थियो ।

छिमेकी देश भारतका बिहार, पश्चिम बङ्गाल, सिक्किम, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक भविषकुमार श्रेष्ठले बताए । त्यस्तै, नेपालका लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० जनाभन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता  थियो । 

कार्यक्रममा विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबीच सूचना र व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा छलफल तथा बहस भएको संयोजक श्रेष्ठले बताए ।

कार्यक्रम समापनको अवसरमा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कोशी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार प्रचार अझ ब्यापक गर्नुपर्ने बताए ।

उनले विदेशी पर्यटक भित्र्याउन नेपाली पर्यटनकर्मी तथा व्यवसायीले प्रभावकारी ढंगले लाग्नुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्डको आयोजनामा भएको कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

View : 132

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved