Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

लाखे नाच : एक लोकप्रिय नेवार संस्कृति

गणेश बज्राचार्य
६ भदौ २०८१, बिहिवार

Advertisement

नेपाली जनश्रुती अनुसार लाखे एउटा दानव हुन् । ओडार परेका ठूलठूला आँखा, आरा जस्तै धारिलो दाँत तथा तीखा बाहिर निस्केका दाह्रा, रातो र कालो रङको लामो केश भएको डरलाग्दो अनुहार भएको दानवको रुपमा लाखेलाई बर्णन गरिएको छ । तीनै दानव मध्येका एकजना दानवले आफ्नो दानवीय प्रवृत्ति त्यागेर शहरका मानिसहरुको सेवा र संरक्षणमा लागेपछि लाखे सबैको प्रिय पात्र हुन थाल्यो । लाखे पहिले पहिले जंगलमा बस्ने गर्दथे जो पछि आएर शहरका मानवका रक्षक बने ।

लाखे नाच

लाखे नाच नेपालको लोकप्रिय संस्कृतिमध्ये एक बनेको छ । यो नाचलाई नेपाल मण्डलका नेवारहरुको बिशिष्ट परम्परागत सांस्कृतिक पहिचानको रुपमा चित्रण गरिन्छ । लाखेनाचको परम्परा काठमाडौ उपत्यकाभित्र र नेवारहरु बसोबास गरेका नेपालका सबै जिल्लामा देख्न पाइन्छ । लाखेनाच नेवारहरुको वर्षको पहिलो चाड गठेमंगलको दिनदेखि नै निकालिने परम्परा रहेको भएता पनि स्थान र लाखेको विशेषताको कारण भिन्न भिन्न बेलामा निकालिने गरिएको छ ।

लाखे नाचको शुरुवात

नेपालमा नचाइने लाखे विभिन्न नामका छन् । सबैभन्दा पुरानो लाखे मजिपा लाखे हो । भाषा बंशावलीका अनुसार मजिपा लाखे नाचको परम्परा ठकुरी बंशका राजा गुणकामदेवको समयदेखि भएको हो । तर कसैकसैले मजिपा लाखे एघारौं शताब्दीदेखि तथा कसैले हरिसिंहदेबले तलेजु भवानी लिई आउँदा संगै लिएर आएको पनि भन्ने गरेका छन् । (नेवाः तजिलजिइ नखः चखः ) नेपालका लाखेको उत्पत्तिबारे लेखक बिद्वानहरुबाट समान धारणाहरु प्रस्तुत भएका छन् । यहाँ केही लाखे बारे संक्षिप्तमा बर्णन गरिएको छ :

क) मजिपा लाखे आजु

येंया पर्बको अवधिभर काठमाडौंमा नचाइने प्रख्यात लाखेलाई मजिपा लाखे भनिन्छ । मजिपा लाखेलाई शान्त भैरबको रुपमा पनि पुज्ने गरिन्छ । नेपाल सम्वत्को यँला(भाद्र–आश्विन) महिनामा निस्कने एकमात्र लाखे भएकोले यो लाखेलाई यँला लाखे पनि भनिन्छ ।

श्रुतिक्रममा पुस्तान्तरण हुँदै आएको धेरै समान लोकोक्ति मध्य एउटा लोकोक्ति अनुसार कलिगताब्द ४३५९ मा काठमाडौको टोलैपिच्छे एक–एक जना राजाले राज्य गरिरहेको बेला एक जना लाखेको मजिपाकी (चिकंमुगलकी) एकजना किसान युवतीसंग मायाँ बसेकोले ती केटीलाई भेट्न मानिसको भेष धारण गरेर त्यस शहरमा प्रबेश गरे । यो कुरा थाहा पाएर कि त्यो मानिस लाखे हो शहरका मानिसले उसलाई समातेर राजाकहाँ बुझाउन लगे । सबै मिलेर त्यो दानव र युवतीलाई छुटाउन प्रयास गरे । तर सकेनन् । लाखेले आफू राक्षस कुलको भए पनि आफ्नो राक्षसी प्रवृत्ति त्यागेर देशको रक्षा गर्ने तथा अरु राक्षस र नराम्रो शक्तिहरुबाट सबैको रक्षा गर्छु भनी बाचा गरेपछि राजाले उक्त दानवलाईसहरका बच्चाहरुको सुरक्षा गर्ने र प्रत्येक बर्ष येन्यापुन्हि जात्रा (इन्द्रजात्रा)मा भागलिने सर्तमा शहरको एक स्थानमा बस्न स्वीकृित प्रदान गरे । त्यसै बेलादेखि मजिपामा लाखे बस्दै आएका हुन् र यही बाचा अनुसार इन्द्रजात्राका दिन हनुमानढोका परिसरमा बिभिन्न देवदेबीसहित लाखेनाच पनि प्रदर्शन गर्ने गरिएको कथन छ ।

मजिपा लाखेलाई लाखे आजु भनेर सम्वोधन गर्ने गरिन्छ । त्यसरी नैमजिपा लाखेलाई शान्त भैरबको रुपमा पनि मान्ने गरिन्छ । यो लाखे येंन्यापुन्हि (इन्द्रजात्रा)को दिन मात्र प्रदर्शन गरिन्छ । यस लाखेलाई बालबालिकाको रक्षकको रुपमा चित्रण गरिन्छ ।

मजिपा शब्द संस्कृतको ‘मञ्जुपत्तन’ (मञ्जुश्रीको शहर) बाट ब्युत्पन्न भएको हो भनी बताइन्छ । खासमा मजिपा शब्द संस्कृत शब्द मज्झिपातको अपभ्रंश हो । मज्झिपातको अर्थ हुन्छ बीचको शहर । जतिबेला गुणकामदेबले काठमाडौ शहर बनाए यो मज्झिपात एउटा महत्वपूर्ण भाग थियो । मरु, भीमसेनस्थान, जैसीदेवल र यंगालले घेरिएको छ मज्झिपात ।

काठमाडौमा इन्द्रजात्रा पर्वका दिन नचाइने नाच बंशागत रुपमा परम्परादेखि रञ्जितकारहरुद्वारा संचालन गरिदै आएको छ । लाखेले प्रयोग गर्ने पोशाक तथा मखुण्डो करीब पचास केजीसम्मको हुन्छ ।

एउटा कथा अनुसार आकाशभैरव र हनुमानको अनुरोध अनुसार सावनबाकु नामका दैत्य राजाका दुईजना नरभक्षी बच्चाहरुलाई डाँडो कटाएको प्रसंगसँंग लाखेलाई जोडिएको छ । ती दुई दाइभाइ शहरमा पसेर आफ्नो नियम अनुसार येन्यापुन्हिका दिन मानिसलाई खान आएका थिए । त्यसबेला तिनीहरुलाई मजिपा लाखेले लखेटेर शहर कटाएको भनाइ छ । यही कुरालाई प्रतीकात्मक रुपमा प्रत्येक वर्ष मनाइने येन्यापुन्हिमा नचाइने लाखे नाचले दर्शाउन खोजेको पाइन्छ ।    
इन्द्रजात्राका दिन परम्परागत सांस्कृतिक संगीतको धुनसँगै नाच्दै नगर परिक्रमा गर्दैगर्दा नगरबासीहरुले उनलाई खाद्य तथा धार्मिक बस्तुहरु चढाउने गर्दछन् । लाखेलाई अरु देवताहरुलाई जस्तो काँचो केही पनि नचल्ने भएकोले जुनसुकै खाद्यबस्तु पकाएर चढाउनुपर्ने चलन छ । उक्त दिन नगरका खास खास स्थान तथा चौबाटाहरुमा रोकेर लाखेलाई केही बेर नचाउने गरिन्छ । यसबेला झ्यालिंचा नामधारी एउटा सानो बालकले लाखेलाई विभिन्न क्रियाकलाप गरी जिस्क्याउने गर्दछन् जसबाट क्रोधित भएका लाखे उक्त झ्यालिंचालाई लखेट्छन् । झ्यालिंचा भने भीड बीचबाट भागेर लाखेबाट जोगिने प्रयत्न गर्दछन् । सम्भवतः झ्यालिंचा शहरका बच्चा खान आउने नरभक्षी बालकको प्रतीक पात्र हो । 

ख) गुँला लाखे

गुँला लाखे भने श्रावण शुक्ल पूर्णिमाको दिन निकालिन्छ । नेवारी जनश्रुति अनुसार लाखे एउटा दैत्य हो । तर उसलाई दानवहरुमध्येको देवताको रुपमा परिभाषित गरिन्छ । जनविश्वास अनुसार जंगलमा बस्ने मांशाहारी दैत्य भए तापनि लाखेले शहरका प्राचीन बासिन्दाहरुसित त्यहाँका बासिन्दाहरुको सुरक्षा गरिदिने वचनबद्धता प्रकट गरेको हुनाले त्यसको बदलामा उसलाई शहरमा फर्कन र शहरको कुनै एक स्थानमा बस्नसमेत स्वीकृति प्रदान गरेका थिए । यही सम्झौताको कारणले नेवार समुदायमा प्रत्येक बर्ष लाखे नृत्यको रुपमा दैत्यलाई पुनर्जीवित (प्रस्तुत) गर्दछन् । यो लाखे नेपाल सम्बत् अनुसार दशौं महिनामा पर्ने गुँला पर्व (अथवा श्रावण शुक्ल प्रतिपदादेखि भाद्र कृष्ण आमाबस्या) भित्र निकालिन्छ । किंबदन्ती अनुसार प्राचीन कालमा शहरवासीहरु हैजा जस्ता रोगहरुको प्रकोपले मर्न थालेकाले जेठापाकाले लाखे नाच नचाएर यस प्रकोपलाई अन्त गर्न तम्सिए र लाखेलाई आफ्नो शक्ति प्रयोग गरेर यो महामारीको अन्त्य गर्न उक्साइएको थियो । लाखेनाचमा कुनै एउटा ब्यक्ति लाखेको मखुण्डो लगाएर रंगीन वस्त्र र आभूषणमा सजिएका हुन्छन् र ढोलक (धा बाजा), धीमे र भुस्या(झ्याम्टा) आदि सांस्कृतिक नेवारी बाद्यबादनको धुनमा विचित्र ढंगले उफ्रीउफ्री र घुमीघुमिकन नाच्ने गर्दछन् । लाखे नाचिरहेको बेला तींपाक्चा नाम गरेका अर्का दैत्य पनि निस्केर उ सँगसँगै उसलाई जिस्क्याउदै नाच्दछ जसलाई उ लखेटेर भगाउँदछ । स्थानीयहरुको विश्वास छ कि यसबेला लाखेलाई छोइयो भने उसँगको रोगब्याध हरण हुन्छ र दुष्ट आत्माहरु पनि भाग्दछ ।

गुँला लाखे नाचको प्रारम्भ ललितपुरको बुङमतीबाट भएको पाइन्छ । श्री मच्छिन्द्रनाथको नेपाल आगमन बारेको बंशावलीमा उल्लेख भए अनुसार लाखे अर्थात यक्षहरु कलिगत सम्वत् ३६०० देखि बुङमतीमा रहँदै आएको देखिन्छ । सो समयमा नेपाल देशमा जलवृष्टि नभई देशवासीहरुमा खानेकुराको हाहाकार भइरहेको थियो । जलवृष्टिका लागि अपनाइएका कुनै पनि उपाय तथा पूजाआजा कामयाब भैरहेको थिएन । सर्वज्ञ गुरु श्री शान्तिकर आचार्यका अनुसार श्री लोकनाथका शिष्य श्री गोरखनाथले राजा गुणकामदेबका छोरा राजा नरेन्द्रदेवको चरित्र हेर्नका लागि नवनागलाई आशन बनाई ध्यान गरिरहेका गोरखनाथलाई जलवृष्टि गराउनका लागि आशनबाट उठाउन श्री आर्याबलो कितेश्वर करुणामयलाई नेपालमण्डलमा ल्याउन आवश्यक थियो । त्यसैले सर्वज्ञ गुरु श्री शान्तिकर आचार्यको परामर्श तथा निर्देशन अनुसार उहाँका शिष्य बन्धुदत्त बज्राचार्य र ललितपुरका रथचक्र भरिया सहित भई भक्तपुरका राजा नरेन्द्रदेवले कामुनि क्षेत्रमा रहेका यक्षगणका राजा (यक्षराज) शशीकी अतीब पुण्यवती रानी माया नामकी यक्षणीको ५०० सन्तानमध्येको ३२ लक्षणले युक्त कान्छो छोराको रुपमा जन्म लिनुभएका श्री करुणामय (लोकनाथ)लाई नेपाल मण्डलमा ल्याउनुभएको थियो ।

यसरी ल्याउदा बिभिन्न प्रकारका बौद्ध तन्त्रराजेश्वरको सिद्धान्त, नाना प्रकारको ऋद्धिबल, मोहनी मन्त्र आदिको प्रयोगगरी यक्ष गणबाट भएका अनेक प्रकारका समस्याहरु, बाधा ब्यवधानलाई पन्छाउँदै श्री करुणामयलाई समाधि योग ध्यान साधना गरी भ्रमर रुप धारण गराई कलशभित्र प्रवेश गराई ल्याउनुपरेको थियो । आफ्ना प्रिय सन्तानलाई फर्काउनका लागि यक्षराज शशीले ३०० जना यक्षहरुलाई अदृष्यरुपमा राजाको पछि लगाएका थिए । तर बन्धुदत्त बज्राचार्यको तान्त्रिक शक्तिबाट उनीहरुको प्रयास असफल भयो ।

नेपाल मण्डल आएपछि उनीहरु फर्कन सकेनन् । त्यस्तै सबैको सल्लाह अनुसार श्री लोकनाथलाई ललितपुरको बुङमतीमा राखियो । यता आफ्ना गुरु श्री करुणामय नेपाल मण्डल आएको खबर सुनेर श्री गोरखनाथ गुरुको दर्शन गर्न जानका लागि आफ्नो आशनबाट उठेपछि सबै नागहरु पनि स्वतन्त्र भई आ–आफ्नो गन्तब्यतर्फ लागे र नेपालमण्डलमा बर्षा भयो र देशबासीहरुमा हर्ष छायो । लोकको कल्याण गर्ने देवता लोकनाथश्री करुणामयसंग आएका यिनै यक्ष (लाखे पछि लोककल्याणकारी गुँला लाखेको रुपमा परिणत भएको भनाइ छ ।)

ग) भतिगा आजु लाखे

यो लाखे विशेषतः द्यःला समाजबाट निकालिने लाखे हो । द्यःला समाजबाट निकालिने यो लाखेलाई ‘भाते आजु लाखे प्याखँ’ पनि भनिन्छ । नेसं. ९० देखि प्रचलनमा आएको मानिने यो लाखे प्याखँ द्यःला समाजको पहिचानमुखी जात्रा संंस्कृति हो । प्रत्येक बर्ष नाग पञ्चमीको दिनदेखि कृष्णाष्टमीसम्म नचाइने भतिगा आजु लाखे प्याखँ काठमाडौको सबल बहालबाट निकालिने गरिन्छ । भतिगा आजुको शाब्दिक अर्थ पुख्र्यौली आजु भन्ने बुझिन्छ । यिनी कहाँका हुन्, कहिले आएर सबल बहालमा रहेकी एकजना द्यःला कन्यासँग विवाह बन्धनमा बाँधिएका हुन् भन्ने कुरा अज्ञात छ । तर यिनलाई त्यस ठाउँका मानिसहरुले सम्मानित जुवाइको दर्जामा राखेका थिए । किनभने यिनी सम्पदा संस्कृतिप्रति रुचि भएका, रससँग गर्न माहिर समाजसेवी स्वभावका थिए । रहँदैबस्दै जाँदा यी जुवाईको शरीरमा देवता चढ्न थालेपछि मुकुण्डो लगाएर भतिगा आजु लाखे प्याखँ नचाउन थालियो । ठूला ठूला जोडिएको आँखा, मुखबाट दाह्रा निस्किएको, रातो रङको मुकुण्डो र छातीमा षटकोण कोरिएका रातो जामाको पहिरनमा देखापर्ने भतिगा आजु लाखे प्याखँ सबल बहालको नासःद्य (नृत्य नाथेश्वर)लाई नाग पञ्चमीको दिन जीव वलि दिएर निकालिन्छ र कृष्णाष्टमीका दिनसम्म टोल टोलमा घुमाइन्छ ।

एक कथन अनुसार मञ्जुश्री बंशज भनिने रञ्जितकार समाजको नेतृत्वमा इन्द्रजात्राको दिन निकालिने मजिपा आजु  र भतिगा आजु लाखेबीच कहिल्यै भेट गर्नु हुँदैन । कथंकदाचित मजिपा आजु सबल बहालमा वा भतिगा आजु मजिपातमा पुगे रगत छादेर मृत्यु हुन्छ भन्ने विश्वासमा यी दुवै लाखे तत्तत् स्थानमा कहिल्यै नाच्न जाँदैनन् ।

लाखेको ब्युत्पत्तिबारे आएका ब्याख्याहरुमा पृथकता पाइएता पनि मूल कुरामा समानता पाइन्छ । नेवार समाजमा लाखेको आफ्नै बिशिष्ट सांस्कृतिक महत्व छ । यो नाच गैर बौद्ध संस्कृतिमा पाइदैन । यसबाट लाखे कुनै दुष्ट प्राणी नभई मानवमात्रको सहयोगी जंगलमा बस्ने एक प्राणी भएको कुरा उजागर गर्दछ । मैत्री र करुणाबाट जस्तोसुकै दुष्टात्मालाई पनि सुधार्न सकिन्छ भन्ने कुरा लाखेको प्रसंगले पुष्टि गर्दछ । हिजोआज झाँकी प्रदर्शन गर्ने नाममा विभिन्न गैर सांस्कृतिक पर्वहरुमा लाखेको प्रदर्शन गर्ने गरिएको छ । साथै लाखेलाई पर्वहरुमा मनोरञ्जनको साधनको रुपमा र अर्थ संकलन गर्ने माध्यमको रुपमा प्रयोग गर्ने गरिएको छ । परिणामतः टोल टोलमा आवश्यकताभन्दा बढी लाखेहरुको संख्या बढ्दै गइरहेको छ । यसबाट लाखेको महत्व घट्दै गइरहेको महशुश हुन्छ । लाखेको सांस्कृतिक महत्व नबुझेर जुनसुकै बेलामा लाखे निकालेर मनोरञ्जनको साधन बनाइनु कत्तिको उचित छ यसतर्फ भने सचेत संस्कृतिप्रेमीहरुको ध्यान जानुपर्ने देखिन्छ ।

bajragb60@gmail.com

View : 343

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved