११ औं महाधिवेशन
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै गुटलाई एकढिक्का राख्न पनि विफल बनेका छन् ।
आफू निकट नेताहरुको व्यवस्थापनकै लागि भनेर विधान महाधिवेशनको म्याण्डेट लत्याउँदै विधानमा परिवर्तन गरेका ओलीका निकट सहयोगीहरु अन्तिममा उनको टोलीबाट बाहिरिएका छन् ।
कोशी प्रदेशका नेताहरु भीम आचार्य, राजेन्द्र गौतम, लालबाबु पण्डितदेखि प्रदीप ज्ञवालीसम्मका नेताहरुले ओलीले भनेको पदमा निर्वाचन लड्न इन्कार गरेका छन् ।
पछिल्लो समय ओलीको टिममा रहेका नेता रघुजी पन्त पनि अन्ततः ईश्वर पोखरेल समूहमा गएका छन् । ओलीका ज्यादै निकट मानिने संखुवासभाका नेता राजेन्द्र गौतमले ओलीको वरिपरि घुमेर बस्नेहरुले मनपरी गरेको प्रतिक्रिया दिएका छन् ।
एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता भएको छ । जस अनुसार अध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओली र अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।
उनीहरूबीच प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । दुवै जनाले प्यानल नै बनाएर पदाधिकारीमा प्रतिस्पर्धा गर्न लागेका छन् । दुवै तर्फबाट विभिन्न पदमा उम्मेदवारी परेका छन् ।
उम्मेदवारी दर्ताको दिनसम्म आइपुग्दा अध्यक्ष ओली समूह एकढिक्का रहन सकेन । कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्तलगायत नेताहरू अध्यक्ष ओली समूह छाडेर पोखरेल समूह तथा स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।
इच्छा लागेको पदमा उम्मेदवारी दर्ता गर्न नपाएकोमा नेता प्रदीप ज्ञवाली नेतृत्वसँग असन्तुष्ट छन् । उनलाई ओली समूहबाट उपाध्यक्ष पदमा उम्मेदवार बनाउने भनिए पनि मानेनन् । केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् ।
अध्यक्ष ओलीले ११ औं महाधिवेशन उद्घाटन सत्र सकिइसकेपछि पनि केन्द्रीय समिति बैठक बोलाएर पुरानै विधान ब्युँत्याएका थिए । विधान संशोधनको प्रस्ताव फ्लोरबाट गरेर पुरानै विधान ब्युँत्याइएको थियो ।
नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाइए पनि ओली समूहले पदाधिकारीमा उम्मेदवार बनाउँदा आफ्नो समूहलाई एकढिक्का राख्न सकेन, त्यसको असर परिणाममा पर्न सक्ने नेताहरू बताउँछन् ।
‘यसपालि हाम्रा साथीहरूले साह्रै साँघुुरो घेरामा रहेर टिम बनाए, अँध्यारो कुनामा बसेर टिम बनाएपछि समस्या देखिएको हो’, ओलीनिकट एक पदाधिकारीले भने, ‘टिम एकढिक्का रहेको सन्देश दिन नसक्दा त्यसले परिणाममा असर ल्याउन सक्छ ।’
ओली समूहले लेखराज भट्टराईलाई सचिव पदमा उम्मेदवार बनाए पनि उनले मानेनन् । उनी उपमहासचिव पदमा उम्मेदवार बन्दा सो पदका लागि ओलीले अघि सारेका भानुभक्त ढकाल सचिवमै बस्न बाध्य भएका छन् ।
यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम पनि ओलीका विश्वास पात्र हुन् । सोही आधारमा उनले उपमहासचिव पदमा आकांक्षा व्यक्त गरेका थिए ।
तर ओलीले बनाएको आफ्नो टिममा गौतम अटाउन सकेनन् । ओलीको टिममा नपरेपछि गौतमले पनि उपमहासचिव पदमै उम्मेदवारी दर्ता गरेका छन् ।
झापाका ओली निकट नेता अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए ।
सचिव पदका आकांक्षी उनी पनि ओलीको टिममा नअटाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । ओली समूहबाट महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भएपछि उपमहासचिव प्रदीप ज्ञवाली असन्तुष्ट बनेका थिए ।
ओली समूहले पदाधिकारीमा अघि सारेकाहरूमा अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वी सुब्बा गुरुङ छन् ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवहरुमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट ओली समूहबाट उम्मेदवार छन् ।
सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई उम्मेदवार छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट अध्यक्षमा पोखरेल, उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराम मेघी गुरूङ, गोकर्ण विष्ट र अरुण नेपाल उम्मेदवार छन् ।
महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्दा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ भट्टराई र आनन्द पोखरेल उम्मेदवार छन् ।
सचिवमा गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरूषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् ।
View : 254
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved