धनकुटा । राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका पत्रकार किशोर विश्वकर्मा अध्यक्ष चयन भएका छन् । दुई उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरे चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा खेममाया शिवा, चिरञ्जिवी शंकर, नरेश खाती, भूपाल सुर्खेती, आयुष्मा शंकर, खिरालाल विश्वकर्मा, राजन ठटाल, सुनिता रसाइलीलगायत छन् ।
धनकुटाको छथरजोरपाटीमा सम्पन्न अधिवेशनले निवर्तमान प्रदेश अध्यक्ष नैन विश्वकर्माको संयोजकत्वमा रणध्वज लोहार र पदम सरदार सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको जनाइएको छ ।
अधिवेशनको उद्घाटन पूर्वमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । अधिवेशनलाई छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बासहित राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, नेपाल पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ लगायतले शुभकामना दिएका थिए ।
सोही अवसरमा संघका केन्द्रीय सदस्य एवं सुनसरीका पत्रकार पीबी दियाली, ‘बिसे नगर्ची’ का लेखक दिपेन्द्र तिमल्सिना र सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष एवं संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई सम्मान गरिएको थियो ।
अधिवेशनले कोशी प्रदेशका सवै स्थानीय तहले सञ्चार नीति बनाउँदा दलितमैत्री बनाउनुपर्ने, प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सञ्चार काउन्सिल विधेयकमा दलित समुदायका पत्रकारको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका विषयलाई समेटेर १० बुँदे घोषणापत्र जारी गरिएको नवनिर्वाचित प्रदेश अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
View : 62
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved