विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तारमा अझै केही दिन लाग्ने बताएका छन् । बुधबार राजनीतिक भेटघाट सकेर काठमाडौंबाट विराटनगर फर्किएका मुख्यमन्त्री कार्कीले सरकार विस्तार तीजपछि हुने बताएका हुन् ।
उनले कांग्रेसको कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाँडै बिस्तार हुने बताए । उनले सरकार बिस्तारका लागि कांग्रेसलाई गति बढाउन पनि आग्रह गरे । ‘कांग्रेसको हिंडाइ बिस्तारै भयो’ उनले भने,‘गति बढाउनुहोस् ।’
सरकार बिस्तारको ढिलाइले सरकारको काममा पनि असर परेको उनले बताए । सरकार विस्तारले शासकीय सुधारको काम र विकासका योजनाहरुलाई गति प्रदान गर्ने पनि बताए ।
मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग पनि लाप्पा खेल्न जान नहुने टिप्पणी गरे । ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिंदैन, हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौं’ उनले भने,‘कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।’
सरकार गतिशील र व्यवस्थित ढंगले अगाडि बढिसकेको भन्दै कसैको भनाइको पछाडि सरकार नकुद्ने प्रष्ट पारे ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved