विराटनगर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरको टक्सार पारपानीमा सोमबार दिउँसो भएको आगलागीबाट ७ घर जलेका छन् । ८ वटा गोठ समेत जल्दा केही पशुचाैपाया पनि मरेका छन् ।
सोमबार विहानैदेखि चलेको हावाले स्थानीय इनामे सामुदायिक वन क्षेत्रमा लागेको डढेलो गाउँमा फैलिएर आगलागी भएको जनाइएको छ ।
सोमबार बिहान १० बजेतिर सुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको स्थानीय सन्दीप राईले जानकारी दिए ।
आगलागीबाट भोजपुर नगरपालिका-१२ टक्सार पारपानी गाउँका शम्भु चापागाईं, सोभित श्रेष्ठ, गोमा दर्जी, राम बहादुर कार्की, गोपीकृष्ण धमला लगायतको घर पूर्ण रुपमा जलेका छन् ।
त्यस्तै गोविन्द चापागाईँ,रुद्र प्रसाद ढकाल, शेखर धमला, तीर्थप्रसाद सुवेदी, चन्द्र प्रसाद सुवेदी लगायतको घरमा पनि आगोले क्षति पुर्याएको राईले बताए । गोमा दर्जीको सुँगुर समेत आगलागीमा परी मरेको जनाइएको छ ।
आगलागी भएको वस्तीमा दमकल पुग्न नसकेका कारण नियन्त्रणमा कठिनाई भएको जनाइएको छ ।
स्थानीयबासी ततथा सुरक्षाकर्मीले आगो निभाइरहेको जनाइएको छ ।
View : 241
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved