विराटनगर । नेपाली ढाका कपडाको प्रवद्र्धन गर्दै बजारिकरणलाई सघाउ पुर्याउने उद्देश्यले विराटनगरमा ढाका महोत्सव शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यमी विकास समितिको आयोजनामा विराटनगरको जैन भवनमा बिहीबारदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।
महोत्सवको उदघाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी नीति तथा कार्यक्रममा ढाका तथा घरेलु उद्योगको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए ।
उनले कोशी प्रदेशमा कार्यरत निजामति कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुलाई ढाकाका साथै घरेलु उद्योगबाट उत्पादित कपडालाई औपचारिक पोशाकका रुपमा प्रयोगमा ल्याउने विषयमा आफूले पहल गर्ने आश्वासन पनि दिए ।
महोत्सवमा कोशी प्रदेशका तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, धनकुटा, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका महिला उद्यमीहरुले उत्पादन गरेका ढाका कपडा, ढाकाका तयारी पोशाक ,व्याग लगायत घरेलु उद्योगका उत्पादनहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएका छन् ।
‘नेपाली भेषभूषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ महोत्सवको मुख्य नारा रहेको छ । ढाका कपडा नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको नेपाली जीवनशैलीको एक महत्वपूर्ण अंश भएकाले त्यसको प्रवद्र्धनमा जोड दिइएको आयोजकहरुको भनाइ छ ।
देशभर विभिन्न समुदायहरूमा ढाका कपडा उत्पादनको लामो इतिहास छ । कोशी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा लगायतका क्षेत्रमा ढाका उद्योग प्रमुख रूपमा विकास भएको पाइन्छ ।
मुख्यगरी महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ढाका महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक सरु केसीले जानकारी दिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाली ढाका कपडाले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै निर्यातको उच्च सम्भावना बोकेको भएपनि उक्त व्यवसायलाई अझ परिस्कृत, प्रविधिमैत्री र व्यवसायिक बनाउन नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए ।
यसैलाई मध्यनजर गरेर नेपाली ढाका कपडाको प्रवद्र्धन, स्थानीय उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाहरूको खोजी तथा नेपाली महिलाहरूलाई उद्यमशीलतामा सशक्त बनाउन महासंघले कोशी प्रदेशमा पहिलो पटक ढाका महोत्सव लगाउने जमर्को गरेको राउतको भनाइ छ ।
महासंघले कोशी प्रदेशको कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत भदौमा कृषि एक्स्पोको आयोजना गरेको थियो अहिले ढाकाको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको छ ।
महासंघले यी दुवै कार्यक्रमलाई निरन्तरता दिंदै वर्षेनी एक्स्पो गर्ने योजना बनाएकाले यसमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्न महासंघ अध्यक्ष राउतले प्रदेश सरकारसँग माग गरे ।
महोत्सव उद्घाटन समारोहमा राउतले भने, महोत्सव भनेको उत्पादकदेखि क्रेता, विक्रेता सबैको जमघट हुने थलो हो ।
मलाई आशा छ यो महोत्सवबाट नेपाली ढाका कपडाको अझ ब्रान्डिङ भएर जानेछ । महिला उद्दमशीलताको सशक्तिकरण भएर लगानी प्रवद्र्धनसँगै भविष्यमा कोशी प्रदेशबाट उत्पादन हुने कपडाले निर्यात क्षेत्रमा अझ बढी योगदान पुर्याउनेछ ।
ढाका कपडाको व्यवसायिक वातावरण निर्माणको लागि शुक्रबारेदखि विभिन्न संवाद कार्यक्रमहरू पनि राखिएको छ ।
महोत्सव उदघाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रीय सदस्य अन्जु श्रेष्ठ, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारिकरणमा जोड दिएका थिए ।
View : 255
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved