Biratnagar, Morang, Nepal
११ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका पूर्वमन्त्री अधिकारी १६ दिनपछि रिहा

उद्घोष सम्वाददाता
१० मंसिर २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा भएका छन् । सोमबार साँझ अधिकारीलाई उनकी पत्नीले जिम्मा लिएर लगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

मन्त्री अधिकारी विवादास्पद जापान भ्रमण प्रकरणका मुछिएका थिए । उनले प्रक्रिया नपुर्‍याई जापान उडेपछि आफू गिरोहको जालमा फसेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । 

असम्बन्धित व्यक्तिहरूलाई आफूसँंगै जापान पुर्याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको समेत कसुरमा अधिकारीलाई २०८१ कात्तिक २५ मा विराटनगरस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर आफुसँगै जापान छिर्न लागेका व्यक्तिहरुबारे पनि अधिकारी नै नेपाल प्रहरी र जापानको अध्यागमनलाई पहिलो जानकारी गराएको खुलेपछि उनी विरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय काठमाडौंले निर्णय गरेको हो ।

अधिकारी जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री पदमा बहाल रहेकै बेलामा व्यक्तिगत हैसियतमा जापान उडेका थिए । 

मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । अधिकारी हङकङ पुगेपछि मिसिएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई अधिकारीले नै दिएको जानकारीका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको खुलेको छ ।

जापानको कानुनको हेर्ने निकायले राई, शेर्पा र देवकोटाविरूद्ध ‘एक्सक्लुसन अर्डर’ पठाएको जनाइएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार  अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि उनी सोमबार साँझै रिहा भएका हुन् ।

View : 38

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved