विराटनगर । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको औपचारिक तयारी थाल्दै कोशीका १४ सहित ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए ।
महामन्त्री पौडेलले दिएको जानकारीअनुसार कोशी प्रदेशका १४ सहित सबै जिल्लामा अन्य जिल्लाका नेताहरूलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।
कोशीको ताप्लेजुङमा मोरङका बाबुराम कोइराला(वासु) केन्द्रीय प्रतिनिधि बन्दा पाँचथरमा तेह्रथुमका तुलसी सुब्बाले जिम्मेवारी पाएका छन् ।
इलाममा दुई जना प्रतिनिधि खटिएका छन् । अग्नीप्रसाद पौडेल (धनकुटा ) र मेदिनीप्रसाद सिटौला (झापा) इलाममा खटिने भएका छन् ।
त्यस्तै संखुवासभामा मंगल मेन्याङ्बो (ताप्लेजुङ), तेह्रथुममा सुरेशकुमार योङ्या (झापा), धनकुटामा शारदादेवी कोइराला (तेह्रथुम), भोजपुरमा सुयर्माराज राई मोरङ खटिने भएका छन् ।
खोटाङमा बाला अधिकारी (ओखलढुंगा), सोलुखुम्बुमा उमा शिवाकोटी (झापा), ओखलढुंगामा दिलकुमारी राई (सुनसरी), उदयपुरमा हिमालय कर्माचार्य (इलाम) र नवराज त्रिपाठी (बारा) ले जिम्मेवारी पाएका छन् ।
झापामा मोरङका बसन्त भट्टराई र तेह्रथुमका रुद्रबहादुर कन्दङ्वा खटिदा मोरङमा झापाका सुधीरकुमार शिवाकोटी र इलामका नगेन्द्रकुमार कुमाल तथा सुनसरीमा मोरङका अमृतकुमार अर्याल र यदु विष्ट खटिने भएका छन् ।
७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभरि जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने छन् ।
पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने छ ।
पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘कांग्रेस परिचयपत्र’ प्रदान गर्ने भएको छ । यो परिचय पत्र सदस्यता अद्यावधिक गरेपछि मात्रै प्राप्त गर्न सकिने पनि महामन्त्री पौडैलले बताए ।
वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नभए पुरानो क्रियाशील सदस्यता कायम नरहने पनि उनले बताए । त्यसकारण सदस्यहरू जुन भुगोल वा वडाका हुन् त्यही गएर अनिवार्य रूपमा नवीकरण गर्न उनले आग्रह गरेका छन् ।
कांग्रेसले महाधिवेशनको तयारीलाई जरा अभियान नाम दिएको छ ।
जसअन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन् । १५ औं महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन् ।
पार्टीले गत निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजीवी र पेशाकर्मीहरूसग संवाद गरिने र जिल्ला तहमा खटिएका प्रतिनिधिहरूले स्थानीय स्तरमा समीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने महामन्त्री पौडेलले बताए ।
सोहीअनुसार कोशी प्रदेशको विराटनगरमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका शीर्ष नेताहरूको उपस्थितिमा बैशाख ९ गते कांग्रेसले कार्यक्रम आयोजना गर्दैछ ।
View : 146
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved