Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

नारायणकाजी रिसाएपछि तराई–मधेश जागरण अभियान’ को उद्घाटनमै अप्ठ्यारोमा परे प्रचण्ड

उद्‌घोष सम्वाददाता
१३ फागुन २०८१, मङ्गलवार

झापा । झापाबाट ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’  थालेको नेकपा माओवादी केन्द्रमा पछिल्लो समयमा नेतृत्व तहबीच मौलाएको असमझदारीबारे सर्वत्र चर्चा हुँदै आएको छ । 

खासगरी पदाधिकारी तहमा जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिइरहेको, दोस्रो तहका अन्य नेताहरू पनि प्रचण्डसँग सन्तुष्ट नभएको विषय निरन्तरजसो समाचारका विषय बनिरहेका हुन्छन् । 

यही क्रममा अचेल हरेक मञ्चमा पुगेर सत्ताको लोभमा परेर आफूले जनतातिर फर्कन बिर्सेको तर अब त्यसो नगर्ने भन्दै दाहालले निरन्तर ‘आत्मालोचना’ पनि गर्दै आइरहेकै छन् । अध्यक्ष दाहालकै शब्दमा ‘यी र यस्ता धेरै प्रश्नहरू जनतामाझ उत्तरित होउन् भन्ने चाहना’ उनको थियो । त्यसैले हुलाकी राजमार्गकेन्द्रीत जागरण अभियानको उद्घाटनमा सबै पदाधिकारीलाई बोल्न दिएर ‘त्यो हल्ला चिर्ने’ योजनामा उनी थिए । 

‘अभियानको उद्घाटन् र शुभारम्भको दिन भएकाले सबैले बोलौं’ भनेर आफैले भनेको दाहालले सुनाए । यसरी सबैले बोल्ने क्रममा ‘पार्टी र नेताहरूबारेका धेरै कोइश्चनहरू उत्तरित भएको’ बताएका दाहाललाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ज्यादै निराश तुल्याइदिए ।

श्रेष्ठपछि बोल्ने पालोमा रहेका दाहालले यो विषय लुकाएनन् । तर, जस्तोसुकै कमजोरीलाई पनि सजिलै स्वीकारिदिने स्वभाव भएका दाहालले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको विषय ‘ठूलो नभएको’ बताएर उपस्थित कार्यकर्ताहरूलाई आश्वस्त भने पार्न खोजे ।  

सोमबार बिहान झापा कचनकवलस्थित बनियानीमा आयोजित अभियान उद्घाटन समारोहमा पदाधिकारीहरू सबैले पालैपालो बोल्दै गए । नेताहरू सबैले बोलेर पार्टी र  नेताहरूको पछिल्लो अवस्थाबारे जनतालाई सबै कुरा बुझाउँदा आफूलाई खुसी लागेको भन्दै दाहालले आफूले बोल्ने क्रममा प्रसन्नता पनि प्रकट गरे । 

उनले यस्तो प्रसन्नतामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठको रिस हलुवामा बालुवा सरह भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बोल्दाबोल्दै रिसाएर माइक छाडेको घटनाले दाहाल र अन्य नेता कार्यकर्तालाई खिन्न पारेको उनीहरूले नै बताएका छन् ।  अध्यक्ष  दाहालले नारायणकाजीतिर लक्षित गर्दै बोल्दाबोल्दै मन्तव्य नरोकेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताए । 

‘उद्घाटनमा पदाधिकारीको सिंगै टिम आएको हुनाले पाँच–पाँच मिनेट बोलौं,  आफ्नो प्रतिबद्धता प्रकट गरौं । त्यसले राम्रो सन्देश जान्छ भनेरै मैले सबैले बोलौं भनेको थिएँ,’ अध्यक्ष दाहालले भने ‘आज फेरि अभियानको शुभारम्भको दिन भएको हुनाले सबैले राख्दा राम्रै हुन्छ भन्ने थियो । फेरि सबै ठाउँमा सबैले बोल्न सम्भव नहोला । जनतालाई पनि अहिले पार्टीको स्थिति बुझ्न सजिलो पनि हुन्छ । हाम्रो प्रतिबद्धता कति गम्भीर र जिम्मेवारपूर्ण हो भन्ने बुझ्न पनि सजिलो हुन्छ भनेर मैले कमरेडहरूलाई अपिल गरेँ ।’ 

दाहालले अगाडि भने ‘सबैले बोल्दै आउनुभयो । नेताहरूका बारेमा कोइश्चनहरू थिए होला, त्यसको पनि उत्तरित भए होला भन्ने मलाई लाग्छ । यो खुसीको कुरा हो । कमरेड वरिष्ठ उपाध्यक्षले बोल्दै गर्दा यहाँ अलिकति केही असहज जस्तो हुन गयो । म त तपाईहरूतिर हेर्दै थिएँ । जनतातिर मेरो ध्यान थियो । तपाईहरू पनि बडो ध्यानपूर्वक सुनेको मैले महसुस गर्दै थिएँ । त्यहीबेला अग्नीजी यहाँ आइपुग्नु भएछ । उहाँलाई पनि के हो भन्ने पर्न गयो ।’

अध्यक्ष दाहाल आफू बोल्नुअघि बनियानीको मञ्चमा घटित घटनाबारे प्रष्टीकरण दिँदै थिए । जहाँ केहीबेर अघि मात्रै नारायणकाजी श्रेष्ठले बोल्दाबोल्दै रिसाएर माइक छाडेका थिए । 

कार्यक्रममा उपस्थित माओवादी कार्यकर्ताहरूका अनुसार जागरण अभियानको उद्घाटन कार्यक्रममा सबैजसो पदाधिकारीले बोल्ने भएपछि हतार बढेको थियो । वक्ताको सूचीमा पुरुषको संख्या धेरै भएको महसुस भएपछि नारायणकाजीकै जोडबलमा कार्यक्रम सञ्चालक राजु आचार्य(अग्नि)ले झापाकी नेतृ धर्मशीला चापागाईलाई बोल्नका लागि मञ्चमा बोलाइरहेका थिए । 

केन्द्रका ठूला नेताहरु बोल्न थालेपछि आफ्नो पालो नआउने बुझेर चापागाई त्यहाँबाट हिँडिसकेकी थिइन् । उनको नाम उद्घोषक आचार्यले तीन पटकसम्म लिएका थिए । तर, चापागाई बोल्न आइनन् ।  त्यसले श्रेष्ठलाई ‘इरिटेड’ पारिरहेको थियो । 

‘त्यही विषयमा उहाँ अध्यक्षसँग मञ्चमै झोक्किएको सुनिएको थियो’, माओवादीका एक नेताले भने ‘तर, उहाँले बोल्ने क्रममा रिस त्यो रुपमा प्रकट गर्नुहोला भन्ने थिएन ।’ कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सम्बोधन गरिरहेका थिए । 

समयको दबाबकै कारण कार्यक्रम सञ्चालक आचार्य(अग्नि) श्रेष्ठले बोलिरहेकै बेला माइक नजिकै गएर उभिए । कार्यक्रम सञ्चालक आफू अघि उभिएको देखेपछि श्रेष्ठले उनलाई राम्ररी हेरे । श्रेष्ठले आफूलाई हेरेको देखेपछि आचार्य हाँसिदिए । उनको हाँसो नारायणकाजीलाई थप आक्रोशित पार्ने बहाना बन्यो । 

‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखापरेको ?’ भन्दै नारायणकाजी झोक्किए । त्यति भनेर उनी थप नबोली रिसाउँदै गएर आफ्नो कुर्सीमा बसे । त्यसपछि कार्यक्रमस्थलमा असजिलो अवस्था सिर्जना भएको नेताहरू बताउँछन् ।  श्रेष्ठले रिसाएर माइक छाडेपछि उद्घोषक आचार्यले आफूले गर्दै नगरेको गल्तीप्रति क्षमा मागे । त्यसपछि उनले अध्यक्ष दाहाललाई बोल्न अनुरोध गरे । 

अध्यक्ष दाहालले आफ्नो भनाइको सुरुआत झापाका राजवंशी समुदायबाट गरे । आफू आइतबार आएर राजवंशी समुदायकै सहिद परिवारकोमा बसेको, उनीहरूसँगै खाना खाँदै संवाद गरेको उनले सुनाए । 
आठ मिनेट जति बोलेपछि दाहाल नारायणकाजीको विषयमा प्रवेश गरेका थिए ।

‘यसमा अग्निजी (राजु आचार्य)ले अलिकति आत्मसमीक्षा गरेर गल्ती भए क्षमा चाहन्छु भनिसक्नुभएको छ ।  यो फेरि ठूलो कुरा होइन । यदि  त्रुटि भएछ भने ‘रियलाइज’ गर्छौ, दाहालले भने ‘म यति चाहिँ भन्छु ।’ उनले थपे ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो । उहाँले नरोक्दा हुन्थ्यो भन्ने लागेको थियो मलाई । तर रोकिसकेपछि त त्यो सिद्धिनै हाल्यो ।’ 

अध्यक्ष दाहालले माओवादीले थालेको अभियान ‘निरस अभियान होइन, जनतासँग सजीव सम्बन्ध बनाउने अभियान’ भएको दाबी पनि गरेका छन् ।

View : 259

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved